निर्माणाधीन धनगढी मोहना पुल अत्तरिया सडक थपिएको अवधिमा पनि निर्माण सम्पन्न नहुने भएको छ । भारतीय गौरीफण्टा नाकासँग जोडिएको मोहना पुलदेखि अत्तरियासम्मको १४.२ किलोमिटर लामो यो सडकको तीन वटा खण्डमध्ये पहिलो खण्डको अवधि आगामी ६ मंसिरमा सकिदैछ । बाँकी दोस्रो र तेस्रो खण्डको थपिएको निर्माण अवधि पनि आगामी माघ १५ गते सकिनेछ । तर अहिलेसम्म भौतिक प्रगति ७० प्रतिशतमात्र भएको आयोजना कार्यालयले जनाएको छ ।
आयोजनाका इन्जिनियर लक्ष्मणबहादुर रावलले अहिलेसम्मको प्रगति हेर्दा थप गरिएको अवधिमा तीन वटै खण्डको काम सम्पन्न नहुने बताए । ‘निर्धारित अवधिमा सकिने संभावना छैन ।’ इन्जिनियर रावलले भने, ‘लकडाउनका कारण पनि काम केही प्रभावित बन्यो ।’ पहिलो चरणको कालोपत्रे (डीबीएम) गर्ने कार्य सकिएको छ । दोस्रो चरणको कालोपत्रे गर्ने तथा फुटपाथ र सर्भिस लेन निर्माणको काम बाँकी रहेको आयोजना कार्यालयले जनाएको छ ।
पहिलो चरणमा छ र दोस्रोमा चार गरी कालोपत्रेको मोटाई १० सेन्टिमिटर रहने छ । दोस्रो खण्डमा मात्रै सडकको एकतर्फ दोस्रो चरणको कालोपत्रेको काम भएको छ । फुटपाथ निर्माणको काम भर्खर सुरु भएको छ । १४.२ किलोमिटर सडकलाई मोहना पुलदेखि बोराडाँडीसम्म साढे चार किलोमिटर, बोराडाँडी–गेटा साढे चार किलोमिटर र गेटा–अत्तरिया गरी तीन खण्डमा छुट्याएर छुट्टाछुट्टै ठेक्का मार्फत काम भइरहेको छ ।
सुरुको सम्झौताअनुसार दुई वर्षमा सक्नुपर्र्ने सडक त्यसपछि थप गरिएको २० महिना बित्नै लाग्दा कहिले बन्ने भन्ने टुङ्गो छैन । ठेकेदार र सरोकारवाला निकायको लापरबाहीले काम लम्बिएको स्थानीयको आरोप छ । सडकको अवधि लम्बिदा आवतजावतमा निकै सास्ती खेप्नु परेको थियो । अहिले पहिलो चरणको कालोपत्रे गरिएपछि भने केही सहज भएको स्थानीय नारायण जोशीले बताए । ‘ठेकेदारले राम्ररी काम गरेको भए अहिलेसम्म सडक बनिसक्थ्यो । विभिन्न वहाना देखाएर ढिलो गरियो ।’ जोशीले भने, ‘सम्बन्धित निकायले पनि आयोजनाको कामलाई तीव्रता दिन सहजीकरण गर्न सकेन ।’ यो सडकले भारतीय नाकाबाट अत्तरियामा पूर्व–पश्चिम राजमार्ग जोड्छ । नाका र राजमार्ग जोड्ने महत्वपूर्ण सडक र सुदूरपश्चिमको ठूलो आयोजना भए पनि समयमै सम्पन्न गर्नेतर्फ सरकारले ध्यान नदिएको स्थानीयको गुनासो छ ।
निर्माण सम्झौता भएपछि सुरुमा सडकको क्षेत्राधिकार खाली गर्न ढिलो भएको थियो । यही कारण पहिलो पटक म्याद थप गरिएको थियो । अहिले लकडाउनलाई कारण देखाएर ठेकेदार दोस्रो पटक म्याद थप माग गरिरहेका छन् । गत वर्ष जेठमै आयोजनाको निर्माण अवधि सकिएको थियो । दोस्रो र तेस्रो खण्डको सम्झौता १ जेठ २०७४ मा तथा पहिलो खण्डको सम्झौता सोही वर्ष १० जेठमा भएको थियो । तीन वटै खण्डको निर्माण कार्य २४ महिनाभित्रै सक्ने सम्झौता थियो । तर उक्त अवधिमा आधा काम पनि नभएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आयोजनाको पहिलो खण्डको १८ महिना र बाँकी दुई खण्डको अवधि २० महिना थप गरेको थियो ।
थपिएको अवधिमा पनि काम नसकिने भएपछि निर्माण कम्पनीहरुले म्याद थपको माग गरेका छन् । पहिलो खण्डमा काम गरिरहेको शर्मा–अमर–नागार्जुन जेभीले आगामी असार मसान्तसम्म म्याद थपका लागि आयोजना कार्यालयमा निवदेन दिइसकेको छ । दोस्रो खण्डमा ठेक्का पाएको लुम्बीनी–राजेन्द्र डाँफे तथा तेस्रो खण्डको लामा–राजेन्द्र–डाँफेले पनि म्याद थपको माग गर्न लागिएको जनाएका छन् । शर्मा–अमर–नागार्जुन जेभीका साइट इन्चार्ज नविन देवले लकडाउनका कारण करिब तीन–चार महिना काम प्रभावित हुँदा ढिलाइ भएको बताए । लकडाउनको सुरुमा काम गर्न नपाएको र पछि काम गर्ने अनुमति पाए पनि सहज रुपमा सामग्री नपाउँदा समस्या भएको उनले बताए । ‘कालोपत्रेको काम लगभग सकिदैछ । बाँकी काम पनि यही वर्षभित्र सकिन्छ ।’ देवले भने, ‘बीचमा काम गर्न नपाएकाले थप समय माग्नु परेको हो ।’
मोहना पुलदेखि अत्तरियासम्मको १४.२ किलोमिटरमध्ये विभिन्न ठाउँमा गरी करिब चार किलोमिटर सडक चार लेनको हुनेछ । सडकको ५० मिटर क्षेत्राधिकारमध्ये छ लेनमा कालोपत्रे सडकको चौडाइ दुवैतर्फ गरी २८.२० मिटर र चार लेनमा २० मिटर छ । बीचमा तीन मिटरको मेडियन राखिएको छ । डेढ मिटर चौडा फुटपाथ र न्यूनतम् साढे तीन मिटर चौडाइको सर्भिस लेन हुनेछ । चार लेनमा भने फुटपाथ र सर्भिस लेन हुने छैन । सुरुमा एक अर्ब ५० करोडमा निर्माण सम्झौता भएको थियो तर पछि भेरिएसन गरेपछि आयोजनाको लागत एक अर्ब ६५ करोड पुगेको छ । फुटपाथलगायत केही संरचनाहरु पछि थपिएकाले करिब १५ करोड रुपैयाँ लागत बढेको इन्जिनियर रावलले बताए ।
सडक निर्माण सम्झौता भएको साढे चार वर्षपछि सडकअन्तर्गत पर्ने पुलको टेण्डर अगाडि बढेको छ । गेटामा पर्ने मनहरा र सुनी खोलामा पुल निर्माणका लागि आयोजना कार्यालयले अहिले टेण्डर गरेको छ । यी दुई ठाउँमा रहेका दुई लेनका पुललाई चार लेनको बनाइने छ । त्यसका लागि अहिलेको पुलमै थप दुई लेन जोडिने इन्जिनियर रावलले बताए । शुरुमा मोहना नदीमाथिको पुललाई पनि चार लेन बनाउने भनिएको थियो तर पछि सीमामा सवारी चाप खासै नदेखिएकाले मोहना पुललाई चार लेन बनाउने कार्य स्थगित गरिएको थियो ।
अहिले भने मोहनालाई पनि चार लेन बनाउन विभागले चाँसो देखाएको आयोजना कार्यालयले जनाएको छ । विभागले चाँसो देखाएपछि आयोजना कार्यालयले प्राविधिक प्रस्ताव तयार पार्न थालेको छ । आयोजना प्रमुख पटक पटक फेरिने गरेकाले पनि काममा केही असर पर्ने गरेको कर्मचारीहरु बताउँछन् । साढे चार वर्षको अवधिमा पाँच जना आयोजना प्रमुख फेरिएका छन् । ‘एउटा प्रमुखले आयोजनाको बारेमा राम्ररी बुझ्न नपाउँदै सरुवा भइसक्छन् ।’ एक कर्मचारीले भने, ‘यसले पनि केही प्रभाव परेको छ ।’