धनगढी उपमहानगरपालिका वडा नम्वर ७ की रञ्जिता चौधरी बुधवार त्रिनगर नाका भएर श्रीमानसंगै भारत जाने तयारीमा थिईन् । विगतका वर्षमा दशैँमा घर आएर तिहार मनाएपछि भारत फर्कने उनीहरु यस वर्ष कोरोनाको त्रासले गत वैशाखमा घर फकिएका थिए ।
बैशाखदेखि बेरोजगार भएका भएका उनीहरु छाक टार्न मुस्किल भएपछि भारत जान लागेका हुन् । रञ्जिताको धनगढीमै माइती भएपनि उनी भाईटीकाको मुखमा भारत लागेकी हुन् । ‘चाडपर्व मनाउनका लागि पैसा पनि छैन् । टीका लगाएर जाने इच्छा थियो । तर बाध्य भएर भारत जानुपर्ने भयो ।’ उनले भनिन्। उनीहरू दुवैजना भारतको लुधियानामा कुखुरा फर्ममा काम गर्छन् ।
डोटीको केआसिंह गाउँपालिकाकी दीपा रावत पनि बुधवार विहान भाईटीकाको मुखमै भारत गईरहेकी थिईन् । केही समय अगाडि फर्किएकी उनले साँझ–बिहान खानसमेत समस्या हुन थालेपछि भारत फर्कनुपरेको बाध्यता सुनाईन् । डोटीर्क लालुदेवी विष्टको गुनासो पनि फरक थिएन् । ‘चाडपर्व परिवारका सदस्यसंगै मनाउन रहर त थियो ,’ उनले भनिन्, ‘कोरोना भाईरसको संक्रमणका कारण धेरै महिनासम्म बेराजगार बसेकी छु । छाक टार्नका लागि भएपनि भारत जानै पर्ने भयो ।’
गरिबीका कारण परिवार पाल्न मुस्किल भएपछि चाडपर्वको मुखमा कोरोनाको समेत प्रभाव नगरी दैनिक सयौँ नेपाली त्रिनगर नाका भएर भारत जाने गरेका छन् । स्वदेशमा सामान्य काम समेत नपाएपछि मजदुरीका लागि पनि भारत जानुपरेको उनीहरूको गुनासो छ । चौकीदारी, घरको सरसफाइ, खाना बनाउने, गाडी धुने, स्याउ टिप्नेलगायतका कामका लागि नेपालीहरु भारत जाने गरेका छन् ।
सुदूरपश्चिमका दुई प्रमुख नाका त्रिनगर र गड्डाचौकीबाट असोजयता मात्रै साढे ५६ हजार नेपाली भारत गएका प्रहरीको तथ्यांक छ ।
दसैँ सकिएयता भारत जानेको संख्या बढेको सीमा प्रहरी चौकी डोकेबजारका प्रमुख प्रहरी नायब निरीक्षक भूपालसिंह थापाले बताए ।
युवालाई स्वदेशमा रोक्न नसकिएको बताउँदै सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले प्रदेश सरकारको नीति र योजना असफल भएको बताए । कृषि, पशुपालन, ससानो व्यवसायमा जोडेर युवाहरूलाई रोजगारी दिने कार्यक्रम प्रदेश सरकारले ल्याउनुपर्ने उनले बताए ।