टीकापुर घटनाका बारेमा दलहरुको स्पष्ट धारणा माग
2020/11/11, 6:09
 
tikapur

थरुहट/थारुवान राष्ट्रिय मोर्चाले टीकापुर घटनाका बारेमा कैलालीका राजनीतिक दलहरुको स्पष्ट धारणा माग गरेको छ । टीकापुर घटना राजनीतिक भए पनि आपराधिक बनाएर निर्दोष थारुहरुलाई फसाउने कार्य भएको भन्दै मोर्चाले दलहरुको स्पष्ट धारणा माग गरेको हो । मोर्चाले दलहरुका स्पष्ट धारणा माग गर्दै तीन बुँदे ज्ञापनपत्र समेत बुझाएको छ । 

नेकपा, नेपाली काङ्ग्रेस, जसपा, राष्ट्रिय मोर्चा, राप्रपा, नेपाल लोकतान्त्रिक पार्टीको स्पष्ट धारणा माग गर्दै ज्ञापनपत्र बुझाइएको मोर्चाका आन्दोलनका कार्यक्रमका संयोजक माधव चौधरीले जानकारी दिए । उनले राष्ट्रिय मानव अधिकार आयोगको प्रदेश कार्यालयमा समेत ज्ञापनपत्र बुझाइएको उल्लेख गरे । यो घटनाको राजनीतिक रुपबाटै समाधान हुनु पर्ने उल्लेख गर्दै मोर्चाले जिल्लाका राजनीतिक दलहरुलाई ज्ञापनपत्र बुझाएको छ ।

नयाँ संविधान निर्माणको बेला थरुहट÷थारुवान आन्दोलनको क्रममा टीकापुरमा हिंसात्मक झडप हुँदा सुरक्षाकर्मीसहित नौ जनाको ज्यान गएको थियो । २०७२ भदौ ७ गते हिंसात्मक घटना भएको भोलिपल्ट भदौ ८ गते थारु समुदायको घर, व्यापारिक संस्थानमा आगजनी गरिएको थियो । यो घटनाको बारेमा मोर्चासहित कैलालीवासीलाई राजनीतिक दलहरुले स्पष्ट पार्न आवश्यक रहेको मोर्चाको भनाइ छ । यस्तै, कफ्र्युकाबीच थारु समुदायको घरमा लुटपाटकासाथै आगजनी गर्नेका बारेमा पनि राजनीतिक दलहरुको स्पष्ट धारणा आउन आवश्यक रहेको मोर्चाले जनाएको छ । 

प्रशासनले भदौ ७ गतेको घटनामा संलग्न भएको भन्दै थारु समुदायका व्यक्तिलाई कारबाही गरेको तर, भदौ ८ गतेको घटनामा संलग्न भएकालाई पक्राउसमेत नगरेको मोर्चाको भनाइ छ । थरुहट/थारुवान मोर्चाको ज्ञापनपत्र बुझ्दै नेपाली काङ्ग्रेसका जिल्ला सभापति नरनारायण शाह मनुले पार्टीमा छलफल गरेर तीनदिनभित्रै आधिकारिक धारणा सार्वजनिक गरिने बताए । ‘काङ्ग्रेसले २०७३ मै टीकापुर घटनालाई राजनीतिक घटनाको रुपमा समाधान गर्नु पर्ने भन्दै पहल थालेको थियो’, उनले भने ।

यसैगरी,  जसपा नेता कृष्णकुमार चौधरीले मोर्चाको माग मुद्दालाई गम्भीर रुपमा लिन दलहरुलाई आग्रह गरे । ज्ञापनपत्रमा पहिचान र अधिकार सुनिश्चितताको लागि आह्वान गरिएको थरुहट/थारुवना आन्दोलनको क्रममा टीकापुर घटना भएको उल्लेख छ । राज्यको विभेदपूर्ण व्यवहारका कारण छनविन समितिहरुले छानविन गरेर तयार पारेको सत्यतथ्य विवरणसमेत शासकहरुले सार्वजनिक गर्न नदिएको ज्ञापनपत्रमा भनिएको छ ।

प्रहरीको कपोलकल्पिट झूठो बनावटी रिपोर्ट, उजुरी र केही दलका नेताहरुले पुरै थारु समाज र थरुहट आन्दोलनलाई आपराधिक भन्दै सम्मानित अदालतलाईसमेत प्रभावित गर्ने दुस्साहसका कारण टीकापुर घटना राजनीतिक हुँदाहुदै आपराधिक बनाइएको मोर्चाको ठहर छ । यस्तो कार्य निन्दनीय र गम्भीर कार्य रहेको उल्लेख गरिएको छ । 

निर्दोष आन्दोलनकारीहरुलाई आपराधिक भन्ने, बिना प्रमाण पाँच वर्षसम्म माननीय रेशम चौधरीसहित ११ जनालाई बन्दी बनाउने कार्य चरम कदमको पराकाष्ठा रहेको ज्ञापनपत्रमा भनिएको छ । टीकापुर घटनाको राजनीतिक रुपमा समाधान नभए मोर्चा र टीकापुर घटनाका बन्दीका परिवारले कडा आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ ।