कोरोना भाईरसको महामारी र हिन्दु नेपालीका ठूला चाडपर्वको वेवास्ता गर्दै त्रिनगर–गौरीफन्टा नाका भएर भारत जानेको लर्को छ । कोरोना भाईरसको संक्रमणपछि बेरोजगार भएका युवाहरु घर फर्किएपछि छाक टार्नै मुस्किल भएपछि अहिले भारत जानेको लर्को लागेको हो ।
त्रिनगर–गौरीफन्टा नाका भएर मात्रै भर्दाै १२ गतेदेखि ६६ हजार नेपाली भारत पसेका छन् । सीमा प्रहरी चौकी डोकेबजारका अनुसार साढे ४६ हजार पुरुष, साढे ११ हजार महिला र ८ हजार बालबालिका भदौ १२ गतेपछि भारत गएका हुन् ।
दशैँ सकिएपछि भारत जानेको संख्या बढेको सीमा प्रहरी चौकी डोकेबजारका प्रमुख तथा प्रहरी नायब निरीक्षक भूपालसिंह थापाले बताए । उनका अनुसार दशैँपछि मात्रै त्रिनगर नाका भएर २२ हजार बढि नेपाली भारत पसेका छन् ।
गरिबीका कारण परिवार पाल्न मुस्किल भएपछि चाडपर्वको मुखमा कोरोनाको समेत प्रभाव नगरी दैनिक सयौँ नेपाली त्रिनगर नाका भएर भारत जाने गरेका छन् । स्वदेशमा सामान्य काम समेत नपाएपछि मजदुरीका लागि पनि भारत जानुपरेको उनीहरूको गुनासो छ ।
यता छाक टार्न मुस्किल भएपछि हजारौँ युवा भारत गइरहेकोमा सुदूरपश्चिम प्रदेश सरकारले कोभिड–१९ ले प्रभावितमध्ये पाँच हजारलाई तत्काल स्वरोजगार बनाउन कार्यक्रम अगाडि बढाएको जनाएको छ ।
प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालू आर्थिक वर्ष २०७७÷२०७८ मा कोरोना प्रभावित तथा विदेशबाट फर्केका र बेरोजगार युवालाई लक्षित गरी स्वरोजगारका कार्यक्रम अगाडि बढाएको हो ।