सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय दशकपछि आफ्नो भवनमा सरेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ स्थित सालघारीमा सुदूरपश्चिम विश्वविद्यालयको नयाँ भवन निर्माण गरिएको हो । विश्वविद्यालयको केन्द्रीय कार्यालय नयाँ भवनमा स्थानान्तरण गरिएको छ ।
उच्च शिक्षाको अवसर सबै क्षेत्रका जनतालाई उपलब्ध गराई बहुविश्व विद्यालयको अवधारणा अनुरुप नेपाल सरकारको लगानीमा विक्रम सम्वत २०६७ साल असार ३ गते सुदूरपश्चिम विश्वविद्यालयको स्थापना भएको थियो । स्थापना भएको एक दशकपछि विश्वविद्यालयको केन्द्रीय कार्यालयलाई बुधबार नयाँ भवनमा सारिएको हो । विश्वविद्यालयको केन्द्रीय कार्यालय भवन झन्डै १३ करोड रुपैयाँ लगानीमा निर्माण गरिएको छ । तीन तले निर्माण हुने भनिएको विश्वविद्यालयको केन्द्रीय कार्यालय हाल एक तलेमात्रै रहेको छ । आगामी दिनमा थप तला थप्दै जाने विश्वविद्यालयले जानकारी दिएको छ ।
‘यो ३ तलाको भवनको परिकल्पना हो, हामी थप्दै जान्छौ ।’ सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले भने, ‘अबको केही समयपछि नै केन्द्रीय कार्यालयको भवनको अगाडिको निमार्णको काम अघि बढ्छ । तीन तलाको निर्माण सम्पन्न भएपछिको अवस्थामा विश्वविद्यालयको सम्पूर्ण फाँट राख्न सकिने सम्भावना हुन्छ । जसरी पनि विश्वविद्यालयको पूर्वाधार विकासलाई पूर्णतया दिनका लागि विश्वविद्यालय अग्रसर भएर लागेको छ ।’
विश्वविद्यालयका विभिन्न संकाय लगायत विभिन्न प्रशासनिक क्षेत्रले अहिले भवन नभएरसँगै बस्न पाएको अवस्था छैन । यस्तै विश्वविद्यालयले भने बाहिर छरिएर रहेका प्रशासनिक क्षेत्रका भवनहरुलाई आफ्नै भवनमा विकास गर्ने योजना रहेको उपकुलपति जोशीले बताए । सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा रहेका १५ ओटा क्याम्पस सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसका रुपमा छन् । विश्वविद्यालमा विभिन्न छ ओटा संकाय सञ्चालनमा छन् । सञ्चालनमा रहेका संकायसँगै विश्वविद्यालयले थप संकाय र शैक्षिक सुधारका लागि थप कार्यक्रम ल्याउने तयारी गरेको छ ।
‘विश्वविद्यालयका पुराना कार्यक्रमलाई यथावत नै राखेर म्यानेजमेन्टतिर एमबीए चलाउने, इन्जिनियरिङतिर कम्प्युटर इन्जिनियरिङ र कन्सट्रक्सन म्यानेजमेन्टको कोर्षहरु लिने, मानविकी संकायतिर एमफील र पिएचडीको कार्यक्रम लगायतका केही कार्यक्रम आउँदो पुस महिनाबाटै सुरु गर्ने तयारी भैरहेको छ ।’ उपकुलपति जोशीले भने, ‘विश्वविद्यालयले शैक्षिक क्षेत्रमा ठूला महत्वपूर्ण कार्यक्रम ल्याउँदै छ । यसले गर्दा विश्वविद्यालयको भौतिक पूर्वाधार पनि सुधार हुनेछ ।’
विश्वविद्यालयले अगाडि सारेका शैक्षिक कार्यक्रमसँगै पूर्वाधारको विकासमा सहजता भएमा विश्वविद्यालयले भविष्यमा थुप्रै कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको उनले बताए । विश्वविद्यालयले आङ्गिक क्यापसका लागिसमेत विभिन्न योजना अघि सारेको छ । विश्वविद्यालय अन्तर्गत आवद्ध गर्ने कुरामात्रै पूरा नभएर सुदूरपश्चिम विश्वविद्यालयको भौतिक पर्वाधार लगायत शैक्षिक कार्यक्रमको विकासमा आङ्गिक क्याम्पसलाई समेत सँगै अघि बढाउने योजना रहेको जनाइएको छ ।
यसैगरी, दश वर्षपछि विश्वविद्यालयको केन्द्रीय कार्यालय आफ्नै भवनमा स्थानान्तरण भएपछि विश्वविद्यालयका प्रध्यापकहरुलाई पनि नयाँ उर्जा थपिएको छ । विश्वविद्यालयका प्राध्यापक संघका सभापति दिपकचन्द्र भट्टले ढिलो भएपनि केन्द्रीय कार्यालयको कार्यालय आफ्नै भवनमा सरेपछि खुशी लागेको बताए । ‘यसले हामी प्राध्यापकहरुलाईसमेत उर्जा मिलेको छ’, उनले भने ।
सभापति भट्टले अगाडि थपे–‘एउटा निजी घरमा भाडा तिरेर बस्दा मनोविज्ञान पनि त्यसै किसिमको बनेको हुन्छ । त्यसकारण एउटा खुला, राम्रो वातावरणमा आफ्नै भवन निर्माण भएको अवस्थामा कार्यालयका कार्यकारी र कर्मचारीहरुमा काम गर्न नयाँ उत्साह थपिन्छ ।’ सेवा सुविधा भनेको नयाँ भवन निर्माण हुँदा बढ्ने कुरा नभएको तर मनोविज्ञान राम्रो भएपछि काम गर्न उत्साह मिल्ने उनले बताए । यसघि, सुदूरपश्चिम विश्वविद्यालय कतिपय संरचना भाडाको घरबाट सञ्चालनहुँदै आएको थियो ।
सुदूरपश्चिम विश्वविद्यालय स्थापना भएपछि अध्ययनका लागि काठमाण्डौं वा अन्यत्र जानै पर्ने बाध्यताको अन्त्य भएको छ । विश्वविद्यालय स्थापनाका लागि सुदूरपश्चिम प्रदेशवासीले विगत लामो समयदेखि सरकारसंग माग गर्दै आएका थिए । सुदूरपश्चिम विश्वविद्यालयको स्थापनाले यो प्रदेशको विकासमा एक इँटा थपिएको थियो ।