बैतडीमा बस दुर्घटना अपडेटः मृतक ९ मध्ये ६ को सनाखत, बसमुनि च्यापिएका मृतकको शव अझै निकाल्न सकिएन
2020/11/13, 6:51
 
accidnet

बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बस दुर्घटना भएको छ । दुर्घटनामा परी अहिलेसम्म ९ जनाको मृत्यु भएको छ । २५ जना घाईते भएका छन् । दार्चुलाको गन्नाबाट महेन्द्रनगर आइरहेको ना ५ ख ५१४१ नम्बरको बस खोड्पे बजार नजिक गएराति करिब साढे १० बजेतिर सडकबाट खसेर दुर्घटना भएको प्रदेश टाफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । ८ जनाको घटनास्थलमै र एक जनाको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायण प्रसाद अधिकारीले जानकारी दिए । 

दुर्घटनामा मृत्यु भएका दुई जनाको नाम ठेगाना सहित सनाखत भएको छ । पाँच जनाको नाम मात्रै खुलेको छ । बैतडीको दोगडाकेदार ६ का प्रहरी जवान रणवहादुर चन्दको परिचय पत्रका आधारमा सनाखत भएको छ । त्यसैगरी नरेन्द्र चौधरी, जगतनाथ ओझा, विमल वडु र तारा गिरीको पनि दुर्घटनामा परी मृत्यु भएको छ । उनीहरुका ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी उपचारका क्रममा डडेल्धुरा अस्प्तालमा कञ्चनपुरको भिमदत्त नगरपालिका ८ की १५ बर्षीया कृतिका कार्कीको मृत्यु भएको छ । उनको आज राति पौने एक बजे उपचारका क्रममा मृत्यु भएको हो । मृतकमध्ये ७ जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्प्ताल बैतडी राखिएको छ । एक जना मृतकको शव भने बसमा च्यापिएका कारण निकाल्न सकिएको छैन । बसमुनि च्यापिएको शव निकाल्नका लागि घटनास्थलमा प्रहरी टोली खटाईएको छ । घाईतेहरुमध्ये दुई जनाको रेफर गरिएको छ ।