बैतडी बस दुर्घटनाः एकै वडाका तीन जना युवाको मृत्युले शोकमा डुब्यो गाउँ
2020/11/13, 4:01
 
accidnet

बैतडीको पाटन नगरपालिका ८ खोड्पेमा बिहीबार राती दुर्घटनामा परी एकै वडाका ३ जना युवकको मृत्यु भएपछि गाउँ नै शोकाकुल बनेको छ । गाउँका होनहार युवाहरुको दुर्घटनामा मृत्यु भएपछि दोगडाकेदार ६ मा सान्नटा छाएको वडाध्यक्ष लक्ष्मीदत्त जोशीले बताए ।

उनले भने, तिहारको मुखमा गाउँमा अन्त्यन्तै दर्दनाक घटना भयो । तीनजना युवकको मृत्युले वडा नम्बर ६ शोकमग्न भएको छ ।’ बैतडीको गन्नाबाट महेन्द्रनगरपालिका छुटेको यात्रुबाहक बस बिहीबार राती साढे १० बजेतिर पाटन नगरपालिका ८ खोड्पे नजिक दुर्घटनामा परेको हो । दुर्घटना परी ९ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । मृतक ९ मध्ये तीन जना बैतडीको दोगडाकेदार गाउँपालिका ६ बासिन्दा हुन् । 

नेपाल प्रहरीमा कार्यरत प्रहरी जवान रणबहादुर चन्द, दोगडाकेदार गाउँपालिकाका कार्यरत नायब सुब्बा कविन्द्रप्रसाद जोशी र करनसिंह ऐर एकै वडाका बासिन्दा हुन् । तराई जानका लागि बसमा चढेका उनीहरु कहिले नफर्कने गरेर बिलाएपछि गाउँ नै शोकमग्न भएको स्थानीय बासिन्दा समेत रहेका न्वाली स्वाथ्यचौकीका इन्चार्ज नैनसिंह गोयलाले बताए । 

उनले भने, ३० वर्षभन्दा कम उमेरका एकै ठाउँका साथी गुमाउँदा निकै पीडा महसुस भएको छ । यो वर्ष तिहार हाम्रा लागि काल बनेर आयो । दोगडाकेदार वडा नं ६ का लागि यो निकै दुखदायी दिन भएको छ । दुर्घटनामा परी मृत्यु भएका कविन्द्रप्रसाद जोशी आफ्नी श्रीमति र छोरासँगै महेन्द्रनगर गईरहेका थिए । बस दुर्घटनामा परेपछि जोशी कहिले नफर्कने गरि बिलाएका छन् । ‘बुहारी र नातीको डडेल्धुरामा उपचार भइरहेको छ । एक वर्षअघि मात्रै सरकारी जागीरमा लागेको थियो । हाम्रो परिवारको होनहार सदस्य गुमाउँदा असह्य पीडा भईरहेको छ । दैवले दिएको चोट सहनुको विकल्प छैन् ।’ आफन्त हेमराज जोशीले भने, ‘यो घटनाले कहिले नभुल्ने घाउ बनाएर गएको छ । कलिलो उमेर भतिजाको मृत्यु भएपछि परिवारमा ब्रजपात भएको छ ।’

दोगडाकेदार ६ कै रणबहादुर चन्द पनि बिहीबार भएकै बस दुर्घटनामा बिलाए । श्रीमतीसहित तराई जान लागेका उनी पनि कहिले नफर्कने गरेर अस्ताएका छन् । ‘घाइते भाइबुहारीको डडेल्धुरामा उपचार भइरहेको छ । धनगढीको नयाँ सर्ने तयारी थियो । दैवले चुँडेर लग्यो । अहिले हामी आफन्तहरु शोकमग्न भएका छौं ।’मृतकका आफन्त लोकेन्द्रबहादुर चन्दले भने, ‘यस्तो होला भनेर सोचेका थियौं । के गर्ने नसोचेको भयो ।’

तिहारको समयमा भएको दुर्घटनाले जिल्लामै खल्लो वातावरण भएको छ । चाडपर्वको समयमा धेरै जना आफन्तहरुको भेटघाटमा गईरहेका थिए । यो घटनाले सबैलाई दुखित तुल्याएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए । उनले भने, ‘चाडपर्वको बेला भएको दुर्घटनाले सबैलाई झस्काएको छ । ९ जनाको ज्यान जाने गरी भएको घटनाले सिंगो जिल्ला शोकमग्न भएको छ ।’