पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बसमा बैतडीको दोगकेदार गाउँपालिकाको सेलनीकी २४ वर्षीया विमला कुँवर ऐरी पनि सवार थिईन् । एउटै सिटमा थिए उनका श्रीमान करनसिंह ऐरी र डेढ बर्षीय छोरा पनि । भाईटीका मनाउन कञ्चनपुरको बेलौरीमा रहेको माईती घरमा आउँदै थिए उनीहरु । करनसिंह र विमलाको निजामती सेवामा प्रवेश गर्ने लक्ष्य थियो । त्यस्कै तयारीका लागि उनीहरु भाईटीका मनाएर काठमाडौँ छिर्ने योजना बुनिरहेका थिए ।
चाडपर्वको समय भएकाले यात्रामा पनि मन दंग नै थियो ऐर दम्पत्तिको । बैतडीको पाटन पुग्दा सम्म विमलालाई निन्द्राले पनि छोएको थिएन् । ‘छोराले दूध चुसिरहँदा नै कतिखेर निदाएछु पत्तै भएन्,’ उनले भनिन्, ‘होस खुल्दा बसको झ्यालबाट खस्दै गरेको पाए । त्यसपछि म भिरालो जनिमा खसे । डेढ बर्षीय छोरा नजिकै रोईरहेको थियो । तर बस कतिखेर खस्यो थाहा नै भएन् ।’ दुर्घटनामा घाईते भएपछि डेढ बर्षीय छोरासंगै विमलालाई उपचारका लागि डडेल्धुरा अस्पतालमा पुगाईयो ।
डडेल्धुरा अस्पतालले रेफर गरेपछि अहिले उनको र उनका छोराको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भईरहेको छ । अस्पतालको शैयाबाट उनले श्रीमान करनसिंहलाई खोजिरहेकी छिन् । श्रीमान करनसिंहको घटनास्थलमै मृत्यु भईसकेको जानकारी विमलालाई कसैले पनि दिएका छ्रैनन् । आफन्तले डडेल्धुरामा उपचार भईरहेको छ भन्दै विमलालाई शान्त पारिरहेका छन् । दुर्घटनामा करनसिंह सहित नौँ जनाको मृत्यु भएको छ ।
कञ्चनपुर भीमदत्त नगरपालिका–८ तिलाचौर बस्ने वर्ष १५ की कृतिका कार्की, दार्चुला मालिकार्जुन गाउँपालिका डाडाकोट बस्ने जगन्नाथ ओझा, जिल्ला बैतडी दोगडाकेदार ६ सित्तड बस्ने कपिन्द्र प्रसाद जोशी, दार्चुला खरकडा बस्ने तर्कराज गिरी, बैतडीको दोगडाकेदार गाउँपालिका ६ बस्ने रणबहादुर चन्द, कंचनपुरको भिमदत्त नगरपालिका १० बस्ने बिज्ना देवी धामीको मृत्यु भएको हो ।
यस्तै कैलालीको धनगढी उपमहानगरपालिका–१४ फुलबारी बस्ने नरेन्द्र चौधरी र सोही वडाको आदर्श टोल बस्ने ऋषीराम चौधरीको मृत्यु भएको हो । घाईते ३४ जनाको विभिन्न अस्पतालमा उपचार भईरहेको छ । घाईतेहरुले थोत्रो बस चलाउँदा दुर्घटना भएको बताएका छन् भने बस चालक विरेन्द्र कार्कीले स्टार्ट बन्द र स्टेरिङ लक भएपछि दुर्घटना भएको बताउँदै आएका छन् ।
ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले प्राविधिक गडबढी भएको र तीव्र गतिका कारण बस दुर्घटना भएको हुन सक्ने बताए । यकिन कारण भने अहिले नै भन्न नसकिने गौतमले बताए । दार्चुलाबाट कञ्चनपुरका लागि छुटेको बस बैतडीको खोड्पे नजिक बस दुर्घटना भएको थियो भने त्यस्को खबर प्रहरीले राति १०ः२४ मा पाएको थियो ।