आज धनधान्यकी र समृद्धिकी देवी लक्ष्मीको पूजा गरिँदै
2020/11/14, 8:32
 
laxmi pooja

कात्तिक कृष्ण औँसीको रात धनधान्यकी देवी लक्ष्मीको आराधना गरेर शनिबार लक्ष्मी पूजा मनाइँदै छ । फोहोर र अन्धकार स्थानमा लक्ष्मीले बास नगर्ने भएकोले यो दिन घर आँगन, कोठा, चोटा, बुइँगल, अट्टालिका र घर गोठका कुनाकन्दरा सफा र उज्यालो राखेर लक्ष्मीको स्तूति गर्ने प्रचलन छ ।

कात्तिक कृष्ण चतुर्दशीमा कुकुर तिहार मनाइए पनि शनिबार बिहान चतुर्दशी र दिउँसोपछि रातभर औंसी तिथि छ । जसका कारण कुकुर पूजा बिहान गरेर साँझ लक्ष्मीपूजा गर्नुपर्नेछ । आइतबार बिहान औँसी तिथि भए पनि बिहान ११ बजेर २७ मिनेटपछि प्रतिपदा तिथि लाग्ने भएकाले लक्ष्मीपूजा अघिल्लै दिन साँझ मनाउनुपर्ने नेपाल पञ्चांग निर्णायक समितिको निर्णय छ । शनिबार दिउँसो १ बजेर ४९ मिनेटपछि औंसी तिथि लाग्छ । लक्ष्मीको पूजा साँझ गर्नुपर्ने शास्त्रीय मान्यता रहेको समितिका अध्यक्ष प्राडा. रामचन्द्र गौतमले बताए ।

यसै दिन जनैपूर्णिमाका दिन नाडीमा बाँधिएको डोरो गाईको पुच्छरमा बाँधेर वैतरणी नदी पार गर्ने मनोकाङ्क्षा पनि राखिन्छ । स्थिर लग्न र प्रदोषकालमा लक्ष्मीको आराधना गर्नु भनिएको छ । घाम अस्ताउनु अघिको २५ मिनेट र अस्ताएपछिको प्रदोषकालमा उद्यमी व्यवसायीले र गृहस्थले यसपछि लक्ष्मीको आराधना गर्दा राम्रो हुने ज्योतिषीले बताएका छन् ।

साँझ घरको सरसफाइ गरी मूल ढोकादेखि पूजा कोठासम्म पिठो र अबिरले लक्ष्मीको प्रतीकात्मक पाइला बनाएर झिलिमिली बत्ती बालेर लक्ष्मीको स्वागत गरिन्छ । अध्यारोमा लक्ष्मीको बास नहुने मान्यताअनुसार घरघरमा दीपावली गरिन्छ । बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने भनाइ छ । सबैतिर सफा राखी आँगन, दैलो¬, झ्यालढोका, चोटा, कोठा, अटाली, कौसी, बरन्डा, भ¥याङ आदि ठाउँमा बत्ती बालिने हुनाले यस चाडलाई दीपावली पनि भन्ने गरिन्छ । झिलिमिली पार्न विद्युतीय बत्ती, मैन बत्ती, दियोमा बत्ती तथा पाला र केराका सुत्लामा तेलमा भिजाइएको कपास प्रयोग गरिन्छ ।