हजुरबुबाका तीन भाइ । तिनका ५ छोरा । नातिनातिना गर्दा ४०, ५० जनाको परिवार । सबै सगोलमै । १५, २० बिघा जमिन । पूरै परिवार एकजुट भई काम गर्दा दुईरचार दिनमै खेतीपाती लगाउन र भित्र्याउन सकिने । गोठमा गाईभैंसी पनि त्यत्तिकै । जोत्नका लागि ८, १० हल गोरु पनि । यो सबै सम्झिँदा कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ देखतभुलीका दुखराम रानालाई अहिले पनि बेग्लै आनन्द आउँछ । घरभित्रको काम होस् वा खेतीपाती, सामूहिक रूपमा गर्दा कुनै गाह्रो नहुने ।
फेरि समय पनि नलाग्ने । ‘एकाध बिघाको रोपाइँ त एकै दिनमा सकिन्थ्यो,’ उनले भने, ‘हाँस्दै, रमाउँदै काम सकिएको थाहै हुँदैनथ्यो ।’ रानाथारू समुदायले बिहान रोटी र साँझ भात खान्छन् । दुई तीन जना दिनभरि खाना पकाउनै खटिन्छन् । गोठमा सयरडेढ सय गाई, ५०, ६० भैंसी र बाख्रा पनि । दुई तीन जना गाईभैंसी हेर्ने गोठाला नै हुन्थे । ‘सबैको काम विभाजन भएको हुन्थ्यो,’ दुखरामले भने, ‘ठूलो परिवारमा काम गर्दाको मजा नै बेग्लै ।’
उनको घरमा जोत्नकै लागि ८ हल गोरु थिए । विवाह तथा अन्य काममा जाँदा बयलगाडामै जाने चलन थियो । त्यसका लागि छुट्टै बहरको हल पनि थियो । साइकल, मोटरसाइकलको चलन थिएन । लुगाकपडादेखि रासन सबै बयलगाडामा राखेर इष्टमित्रकहाँ जाने चलन थियो । अहिले भने दुखरामको परिवार ६ जनाको मात्रै छ । १५ वर्षअघि भाइहरू सबै अलग भएपछि जमिन पनि एकरडेढ बिघा मात्रै छ । पहिले जस्तो गोठमा गाई, गोरु र भैंसी पनि छैनन् । आँगनमा घरै ढाकिने गरेर धानका ढोकाहरू पनि छैनन । ‘न पहिले जस्तो ठूलो परिवार सँगै बस्छ, न त धेरै खेतीपातीको काम नै छ,’ लालझाडी गाउँपालिका–३ जाँईका भज्जी रानाले भने, ‘एक्लो छोरा पनि बुबाआमाबाट छुट्टिएर अलग बस्न थालेका छन् ।’ भज्जीका अनुसार पहिले एउटै परिवारसँग धेरै जमिन हुन्थ्यो । कतै रोपाइँ गर्ने, कतै साग तरकारी लाउने त कतै गाई, गोरु चराउन बाँझै छाड्ने चलन थियो । हिउँदमा पनि मसुरो, तोरी, मटर र गहुँ खेती गरिन्थ्यो । बाहिरबाट खासै केही पनि किन्नु पर्दैनथ्यो ।
खेत सबै हल गोरुले जोतिन्थ्यो । धान, गहुँको पनि गोरुकै गहनी लगाएर गरिन्थ्यो । गहुँ छरेपछि हिउँदभरि धानको गहनी गर्ने चलन थियो । रानाथारू समुदायका आँगनमा फागुनसम्मै धानका ढोकाहरू देखिन्थे । अहिले थ्रेसरले चुटेको परालले आँगन भरिएको देखिन्छ । ‘खेत जोत्नेदेखि काट्ने, चुट्ने सबै काम ट्र्याक्टरबाटै हुन्छ, न मान्छे चाहिने न त हल गोरु नै, खेतमा काट्ने, खेतमै चुट्ने दिन आए,’ भज्जीले भने । १५ वर्षअघिसम्म भज्जीको पनि २५, ३० जनाको परिवार थियो । हजुरबुबादेखि नाति–पनातिसम्म सबै एउटैमा थिए । जमिन पनि सगोलमै हुँदा १५र२० बिघा थियो । ‘अहिले त जमिन पनि टुक्रा–टुक्रा भइसक्यो, परिवार पनि त्यस्तै टुक्रिएको छ,’ भज्जीले भने, ‘पहिले जस्तो उत्पादन पनि छैन ।’ उनका अनुसार अहिले अधिकांशले जोताइका लागि हल गोरु पाल्न छाडिसके ।
सामूहिक रूपमा खेतीपातीको काम पनि छाडिसके । दूधका लागि गाईभैंसी पाल्न पनि छाडिसकेका छन । ‘खेतीपाती र रहनसहन मात्रै होइन, रानाथारूको संस्कृति पनि लोप हुने अवस्थामा पुगेको छ,’ लालझाडी गाउँपालिकाको जाँईका अमर रानाले भने, ‘हाम्रा महिलाहरूले आफ्नो परम्परागत पहिरन र गहना लाउन चाडपर्व नै कुर्नुपर्छ ।’ उनका अनुसार परम्परागत पहिरन बनाउन सक्ने महिलाहरू पनि गाउँमा कम छन् । नयाँ पुस्ताले यसतर्फ चासो नदिँदा पनि समस्या भएको छ ।
कञ्चनपुरको लालझाडी गाउँपालिका रानाथारू समुदायको बाहुल्य भएको क्षेत्र हो । यहाँका स्थानीयले अलिअलि भए पनि खेतीपातीदेखि अन्य परम्पराहरू जेनतेन जोगाएका छन् । तर पछिल्लो समय परिवार चाँडै फुट्ने र जमिन खण्डीकरण हुने क्रम यहाँ पनि देखिएको स्थानीय जोगराम रानाले बताए ।