धनगढीमा तिहारको अवधिमा कोरोना भाइरस परीक्षणको लागि स्वाब संकलन कार्य रोकिएको छ । धनगढी उपमहानगरपालिकाले कार्तिक २९ गतेदेखि मंसिर १ गतेसम्म स्वाब संकलन रोकिएको जनाएको हो । धनगढी उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले कर्मचारीहरु तिहारको विदामा बस्ने र संकलित नमूनाको परीक्षणमा ढिलाइ हुने भएकाले संकलन कार्य ती दिनको लागि रोकिएको जानकारी दिए । तर तिहारको विदापछि भने नियमित रुपमा स्वाब संकलन हुने उनको भनाइ थियो ।
सेती प्रादेशिक अस्पतालमा रहेको प्रयोगशालाबाट भने नियमित रुपमा परीक्षण हुने भएको छ । एक पटक परीक्षण गर्न ९६ वटा नमूना आवश्यक पर्ने र सो संख्या पुगेको अवस्थामा परीक्षण नरोकिने भएको हो । सेती प्रादेशिक अस्पतालको प्रयोगशाला इन्चार्ज रमेश शाहीले परीक्षण जारी रहने बताए ।
सुदूरपश्चिमस्थित अस्पताल र प्रयोगशालाहरुबाट तिहारको बेला पनि कोरोना सम्बन्धी स्वास्थ्य सेवा नरोकिने भएको छ । सामाजिक विकास मन्त्रालय धनगढीका प्रवक्ता नरेन्द्रसिंह कार्कीले तिहारको अवधिमा पनि कोरोना अस्पताल र प्रयोगशालाबाट दिइने सेवा जारी रहने बताए । यद्यपी तिहारको अवधीमा अस्पताल र प्रयोगशालाबाट सेवा जारी रहने भएपनि स्थानीय तहमा स्वाब संकलन नहुने भएपछि प्रयोगशालाको सेवा प्रभावित हुने देखिएको छ ।