सुदूरपश्चिम प्रदेशका ५ वटा प्रयोगशालामा ५ सय ७८ जनाको परीक्षण गर्दा थप ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल, जिल्ला अस्पताल डोटी, जिल्ला अस्पताल बझाङ, डडेल्धुरा अस्पताल र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ५ सय ७८ जनाको परीक्षण गर्दा थप ६७ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए ।
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ८२ जनाको परीक्षण गर्दा ३३ जनामा संक्रमण पुष्टि भएको उनले बताए । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका १७ जनामा संक्रमण देखिएको जानकारी दिए । उनका अनुसार उपमहानगरपालिकाको वडा नम्बर १ का १२ जना, वडा नम्बर ४ का २ जना, यस्तै वडा नम्बर २, ५ र १४ का १/१ जनामा संक्रमण पुष्टि भएको छ ।
कैलालीकै जानकी गाउँपालिकाका ७ जना, यस्तै गोदावरी नगरपालिका र लम्किचुहा नगरपालिकाका १/१ जनामा समेत कोरोना पुष्टि भएको छ । यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका र बेल्डाडी गाउँपालिकाका २/२ जना, कृष्णपुर नगरपालिकाका १ जना र डडेल्धुराको आलिताल गाउँपालिकाका १ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
यस्तै, जिल्ला अस्पताल डोटीको प्रयोगशालामा ३५ जनाको परीक्षण गर्दा ४ जनामा, डडेल्धुरा अस्पतालमा १ सय ५८ जनाको परीक्षण गर्दा २३ जना, बैतडीमा ५३ जनाको परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता कार्कीले बताए । उता कमलबजार नगरपालिकाको प्रयोगशालामा ५० जनाको परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको छ ।
यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १० हजार ८ सय ४७ पुगेको छ । प्रदेशभर संक्रमण पुष्टि भएका ८ हजार ७ सय ८९ जनाले कोरोना जितेका छन् भने ४४ जनाको मृत्यु भएको छ ।