तिहार सुरु भएकै दिन बस दुर्घटनामा परेर बैतडीमा ९ जनाको मृत्यु भएपछि तिहार खल्लो भएको छ। जिल्लामा शोकमग्न वातावरण भएकाले यो वर्षको तिहार निकै खल्लो भएको यातायात व्यवसायी हरिश विष्टले बताए। ‘म आँफै पनि यातायात व्यवसायी हुँ। आफू बस्ने ठाउँ नजिकै बस दुर्घटना भएपछि उद्धारमा खटिएँ’, उनले भने, ‘त्यो दृश्य देख्दा मलाई अहिले पनि नरमाइलो लागिरहेको छ। त्यो पीडा भुल्नै सकिदैन्। यो दुर्घटनाले तिहारको कुनै रमझम छैन्।’
बस दुर्घटनामा आफ्नो वडाका साथीहरुको ज्यान गएपछि तिहारको कुनै रौनक नभएको दोगडाकेदार गाउँपालिका ६ का भोजराज जोशीले बताए। ‘चाडपर्वको मुखमा भएका यस्ता घटनाले चाडपर्वको कुनै रौनक रहेन’, उनले भने, ‘पुरै गाउँ शोकमग्न छ। यो वर्षको तिहार पुरै खल्लो भएको छ।’ बैतडीमा भएको बस दुर्घटनाले यो वर्षको तिहार मात्रै नभएर मृतकका परिवारका हरेक चाडपर्वलाई खल्लो हुने वातावरण बनाएको छ।
चाडपर्वको बेला भएकाले दुर्घटनामा गुमाएका सदस्यलाई सम्झिँदा अबका चाडपर्व समेत खल्लो हुने मृतक कविन्द्रराज जोशीका आफन्त हेमराज जोशीले बताए। ‘यो तिहार मात्रै होइन्। अब आउने हरेक तिहारमा हामीलाई आफ्ना परिवारका सदस्यको सम्झनाले सताउने छ’, उनले भने, ‘यो दुर्घटना हाम्रो परिवारका लागि खिल बनेर बस्यो।’
दुर्घटनामा साथीहरु गुमाउँदाको पीडा निकै दर्दनाक भएको स्थानीय शैलश धानुकले बताए। उनले भने, ‘संगै पढेका साथीहरु पनि यो दुर्घटनामा हामीले गुमायौं। यो वर्षको तिहार निकै खल्लो भएको छ। यो तिहारमा कुनै उमंग छैन्।’
जिल्लामा भएको बस दुर्घटनाले चाडपर्वका बेला नरमाइलो वातावरण भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए। उनले भने, ‘यो वर्ष एकातिर कोरोना भाइरसको महामारीले चाडपर्व त्यस्तो खासै मनाउन पाइएको छैन्। अर्कोतिर यो घटनाले जिल्लावासीलाई दुःखी बनाएको छ।’