गाई, गोरु र गोवर्द्धनको पूजा गरी तिहारको चौथो दिन मनाइँदै
2020/11/15, 8:26
 
tihar

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक र गोवर्द्धनको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई माता कै रूपमा सम्मान गरिन्छ ।

स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिइ दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्त्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको विज्ञले बताउँदै आएका छन् ।  गाईको पूजा गरी यस दिन मीठा–मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । यस दिन गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपछि गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास समेत रहेको छ ।

यस्तै यस दिन आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाइ त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ ।  यसैगरी वर्षभर जोतिने गोरु एवं अन्य कृषि कर्म गर्ने किसानलाई पनि यस दिन पूजा गरी मीठा–मीठा परिकार खुवाइन्छ । साथै आज नेवार समुदायले पनि मह पूजा मनाउने नेपाल पचाङ्ग निर्णायक समितिले जनाएको छ ।