कोरोना संक्रमणका कारण कैलालीको भजनी नगरपालिका–८ गोलचउरा का नेपाली काग्रेंस कैलालीका नेता तथा महासमिति सदस्य लक्ष्यबहादुर न्यौपाने (लक्ष्मण) को मृत्यु भएको छ । नेपालगन्जको भेरी प्रादेशिक अस्पतालमा उपचारका क्रममा शनिबार राती करिब ९ बजे ६५ वर्षीय न्यौपानेको मृत्यु भएको हो ।
गत कार्तिक २१ गते सेती प्रादेशिक अस्पतालमा गरिएको पिसिआर परीक्षणमा उनलाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो । त्यसपछि उनी होम आइसोलेसनमा बसेका थिए । समस्या बढ्दै गएपछि गत बिहीबार धनगढीको कोरोना अस्पताल ल्याइएका उनलाई थप उपचारका लागि नेपालगन्ज लगिएको थियो ।
उनको शब अहिले अस्पतालमै राखिएको छ । पुख्यौली घर दाङमा दाहसंस्कार गर्ने तयारी भइरहेको आफन्तजनले बताएका छन् । यस अघि उनले लामो उपचार पछि क्यान्सर जितेका थिए । मृतक न्यौपाने नेपाली काग्रेंसकी केन्द्रीय सदस्य, महिला विभाग प्रमुख तथा पूर्व सांसद ईश्वरी न्यौपानेका श्रीमान् हुन । न्यौपानेका २ छोरा, १ छोरी र आमा छन् ।
न्यौपानेको निधनप्रति नेपाली काग्रेंस कैलालीका सभापति नरनारायण शाह मनुले गहिरो दुःख व्यक्त गर्दै काग्रेंसले एक असल नेता गुमाएको बताएका छन् ।