कोभिड–१९ को सङ्क्रमका कारण १४९ वर्षदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक जौलजीवि मेला यो पटक आयोजना भएन् । भारत पिथौरागढको पिथौरागढ जोलजीविमा हरेक वर्ष १४ नोभेम्बर अर्थात कात्तिक २९ गतेबाट ऐतिहासिक जौलजीवि शुरु हुने गरेको थियो ।
काली र गोरी नदीको संगमस्थलमा १८७१ मा अस्कोटका तत्कालिन राजा पुष्कर पालले ज्वालेश्वर मन्दिर स्थापना गरेर मेलाको शुरुवात गरेका थिए । सानो मन्दिर स्थापना गरेर शुरु भएको मेला अहिले अन्तर्राष्ट्रिय स्तरको व्यापारिक स्थलका रुपमा चिनिएको छ । विसं १९६२ भन्दाअघि यो मेलामा तिब्बती व्यापारी आउने गर्दथे । भारत–चीन युद्धपछि तिब्बती व्यापारी जौलजीवि आउन छाडेका हुन् ।
स्थानीय व्यापारीले तिब्बतबाटै ल्याएका मालसामान मेलामा बिक्री गर्दै आएका छन् । यो पटक कोरोनाका कारण दुवैतर्फ मेला नलगाउने निर्णय भएको मालिकार्जुनवडा नम्बर ७ का वडाअध्यक्ष लोकेन्द्रसिह धामीले जानकारी दिए । पछिल्लो समय स्थानीय सरकार आएपछि नेपालतिर पनि ऐतिहासिक मेला लाग्दै आएको थियो । नेपालमा औपचारिक रुपमा मंसीर १ गतेबाट मेला लाग्ने गरेको थियो । भारतमा ऐतिहासिक रुपमा यो मेला दुई सातासम्म लाग्ने गरेको थियो ।