तिहार: यस्तो हुनुपर्छ दाजु-बहिनी र दिदी-भाईको सम्बन्ध
2020/11/16, 8:34
 
corona

आज तिहारको मूख्य दिन, अर्थात् यमपञ्चकको पाँचौं दिन भाइटीका।  दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायू, आरोग्य एवम् ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टिका लगाई यो पर्व मनाइन्छ। तिहारमा विशेषत विभिन्न सात रङको ठाडो टिका लगाईदिने चलन छ ।

भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई टीका लगाए पछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दाजुभाइलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहि आएको छ।

लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूलथालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्टचिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्या दिवनस्पत्यन्त देवताको समेत पूजा आजा गरी दिदीबहिनीले दाजुभाईलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गीटीका, मखमली, सयपत्री र गोदावरीलगायतका फूलका माला लगाइ दिने गरिन्छ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाईलाई ओखर, कटुस, मसला र सेलरोटी लगायतका मिठोमिठो खानेकुरा दिने र दाजुभाइले दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक परम्परा छ।

दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ । २०७२ वैशाख १२ गतेको भूकम्पले मन्दिर क्षतिग्रस्त भएपछि पूर्नर्निमाण थालिएकोमा अहिले त्यो पूरा भएको छ । मन्दिरमा पूजा एवम् दर्शन गर्ने व्यवस्था मिलाइएको छ। दिदीबहिनी नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन्। यसवर्ष भाइटीका र गोवर्द्वन पूजा एकै दिनमा परेको छ। आज बिहान गाईवस्तुको गोबरलाई नै गोवर्द्वन पर्वतको प्रतिकका रुपमा पूजा गरिएको छ।

यस्तो हुनुपर्छ दाजु र बहिनीको सम्बन्ध :
केहि दिन अघि सामाजिक सञ्जाल प्रयोगकर्ताले सामाजिक सञ्जाल फेसबुकमा लेखे

दाजु र बहिनीको सम्बन्ध खास होस्

घरमा सदैब भगवानको बास होस्

यही छ शुभकामना मेरी बहिनी तिमीलाई

समय नि हाम्रो निम्ति दास होस् । तिम्रो दाजु

विकिपिडिया लेख्छ, “आफ्नै आमा बाबु या काका काकीको वा समान नातापर्ने मानिसको कोखबाट जन्मेकी आफूभन्दा कम उमेर भएकी महिलालाई बहिनी भनिन्छ । त्यसैअनुरुप उमेरमा आफूभन्दा जेठो नातामा परेको पुलिंगलाई दाई ।”

यदाकदा फरक परिवारमा जन्मेका तर भाईटिका लगाउने, राखि बाँध्ने, विभिन्न अप्ठेरोमा साथ सहयोग दिने व्यक्ति बीचको सम्बन्ध पनि दाजु र बहिनीको सम्बन्ध भनेर अर्थ्याएका छन् ।

पछिल्लो केहि समय अघि दाजु र बहिनी नाता लगाएका केहि प्रेमिल जोडीको आत्महत्याले पनि मानिसहरुले पराई सम्बन्ध सजिलै पत्याउन नसकिने, विश्वासिलो नहुने तथा यसले गलत नतिजा ल्याउने भन्दै अर्को फरक घरका दुई विपरीत लिंगी कुनैपनि हालतमा दाजु र बहिनी हुन नसक्ने भनेका छन् । जसले ने भनेतापनि आज हामीले तपाईलाई दाजु र बहिनीबीचको सम्बन्ध के हुने दाजुले बहिनीको हेरचाह र दाजुको बहिनीले हेरचाह कसरी गर्ने भन्ने सवाललाई यहाँ प्रस्तुत गरेका छौँ ।

नेपाली समाजमा महिलाका लागि सहोदर दाजुभाइ हुनु निकै रमाइलो हुन्छ । केहिले त भाग्यमानी मान्छेसँग मात्रै दाजुभाई हुने भन्दै आफ्ना दाजुभाईको संझना पनि गर्छन् । आफूभन्दा ठूलो दाजु हुनु त निकै ठूलो सौभाग्य हो । विशेषगरी तिहार, राखि बाँध्ने दिन दाजुु नभएका बहिनीले वा बहिनी नभएका दाजुले निकै खल्लो अनुभूति पनि गर्छन् । तर कहिलेकाहिँ आफूले गर्न लागेको काममा दाजुले भाँजो हालिदिएको खण्डमा हामी नराम्रो मान्छौँ । त्यसैले तपाई दाई हुनुहुन्छ भने तपाईले आफ्नी बहिनीप्रति यी जिम्मेवारीहरु जरुर पूरा गर्नुहोला ।

१. सल्लाहकारको रुपमा
दाजु घरका बाबाआमापछिका अभिभावक हुन् । उनले भनेको सकारात्मक किसिमको बाटोमा हिँड्दा कहिल्यैपनि बाधा अवरोध आउँदैन । यदि तपाई कसैको दाई हो भने तपाईले आफ्नो बहिनीलाई वा भाईलाई अभिभावकत्व ग्रहण गर्नुपर्ने हुन्छ । उनीहरुको असल सल्लाहकार भएको खण्डमा परिवारमा कुनै किसिमको नराम्रो नोक्सानी पर्ने मामिला आउन पाउँदैन । त्यतिमात्रै होईन यस्तो समस्या जुन समाधानको लागि तपाईकी बहिनीको क्षमता पुग्दैन बाबाआमासँग गएर भन्ने हिम्मत छैन भने त्यो समस्या समाधानका लागि पनि दाजुको भूमिका महत्वपूर्ण हुन्छ ।

हुन त बहिनीमाथि दाईको दवाव रहन्छ तर गोप्यतामा कहिले सम्झौता हुँदैन । त्यसैले पनि आफ्ना गोप्य कुरा भन्न बहिनी हिच्किचाउँदिनन् । यस्तो बेला तपाईले सल्लाहकारको रुपमा भूमिका खेल्न सक्नुहुन्छ । तर यो नठान्नुहोस् परिवारको सर्वैसर्वा तपाई हो । वा परिवारको अन्तिम निर्णय दिने तपाई हो । दाजुको कडा आनीबानीको कारण बहिनीहरु भड्केको वा आफ्ना समस्या उनीहरुसँग लुकाएको भन्न नचाहेको पनि धेरै उदाहरणहरु छन् ।

२. अंगरक्षकको रुपमा

कुनै पनि बहिनीका लागि दाई सुरक्षा कवच जस्तै हुन् । उसले बहिनी घरमा रहँदा मात्र होइन घरबाट निस्किएर घरमै नफर्किँदा सम्म चिन्ता लिइराख्छ । यस्तो अवस्थामा तपाईले बहिनीको आनीबानी, साथीभाई, उसको भेटघाटबारे नियाल्नुपर्ने हुन्छ । उसलाई कसैले धम्क्याउँदा तर्साउँदा वा धाक धम्की, त्रास देखाउँदा तपाई ढाल बन्न सक्नुपर्छ ।

३. गोपनियता रक्षक
कतिपय कुरा यस्ता हुन्छन् जुन तपाईबाट गल्ती भयो । अर्थात् सामाजिक सञ्जाल वा प्रविधीको गुणत्मक विकासका कारण तपाइको गोपनियता भंग भएको छ भने तपाईले अन्तिमपटक दाईसँग भन्नुभयो भने एकछिन आवेसमा आएर तपाईको दाईले तपाईप्रति रिस देखाउन सक्छन् तर तपाईका गोप्य कुराको व्यापार गर्न दाजुलाई कहिल्यै मन हुँदैन । त्यतिमात्रै हो र दाजुले बहिनीको इज्जतमा समस्या आउने कुनै पनि गोप्य कुरा कसैसँग गर्दैन । यसो हुँदा परिवारसँग छिपेका कुरा दाजुसँगै सेयर गर्न सहज हुन्छ ।

४. हेरचाह र तपाईको सपोर्टर

प्राय घरमा दाजु र बहिनीको सुत्ने कोठा एउटै हुन्छ । अलिक उमेर भइसकेपछि भने फरक कोठामा सुतेपनि नजिकै जस्तै राखिन्छ । यसको कारण छ । बहिनीप्रति कुनै बेला आक्रमण भएको खण्डमा वा उनलाई सुरक्षा चाहिँदा उनको अगाडी तपाई खडा हुनुपर्छ । रातिमा सुत्ने विषयमा मात्र होइन विहानमा उठ्ने विषयमा हस्तक्षेप गर्ने र कोठामा सुरक्षाको अनुभव गराउने भूमिका दाजुले खेल्छ । दाइ बहिनीकोबीचमा झगडा नै परेन भने त्यो सम्बन्ध जिवन्त हुनै सक्दैन । खासमा महिलाको जीवनमा सबैभन्दा पहिलो ब्यक्ति जो झगडा गर्न आइपुग्छ त्यो पनि आफ्नै दाइ हो । त्यतिमात्रै होईन परिवारले तपाईको विरुद्धमा हुने जस्तो लाग्ने कुनै निर्णय ल्याउँदा त्यसलाई छेक्ने एउटा मान्छे पनि तपाईको दाई हुनेछन् ।

५. आकर्षक गिफ्ट
कुनै चाडबाड वा तपाईको कुनै विशेष दिनलाई अझै विशेष बनाउनको लागि तपाईको दाईले उपहारस्वरुप दिनुभएको हरेक चिजले तपाईको जीवनमा बहार ल्याउँछ । सोझो हिसाबले भन्दा दाईले बच्चा देखि बुढी हुँदासम्मै तपाईलाई गिफ्ट दिनुहुन्छ ।

६. मार्गदर्शक साथी, पथप्रदर्शक र दार्शनिक
हरबखत ‘यसो गर् नानी, उसो गर् नानी’ भनेको सुनेर वाक्क लागेपनि मान्नुहोस् तपाईको भन्दा ४ थान बढी भोटे उसले फटाएको छ । कुनै पनि स्त्रीको जीवनमा उसको दाजु सबैभन्दा पहिलो पथप्रदर्शक हो । घरीघरी तपाइलाई सम्झाउने बेलामा उ दार्शनिक जस्तो पनि लाग्छ । तर उ तपाईको जीवनको राम्रो परामर्शदाता हो ।

७ . प्रेरक व्यक्तित्व /असल साथी
कुनै पनि स्त्रीका लागि दाइ हुनु भनेको बरदान नै हो । तपाईलाई कुन ल्यापटप किन्ने वा कुन स्मार्ट फोन राम्रो भन्ने कुरामा अलमल भए जहिले पनि दाइसँग गए समाधान निस्कि हाल्छ । त्यतिमात्रै होईन तपाईले मन पराएको मान्छे, परिवार, तपाईको संगत पनि त्यो मान्छेसँग राम्रो छ कि छैन, भन्ने विषयमा राम्रो जानकारी दिन सक्छन् ।

८. सहयोगी

तपाईलाई कतै जानुपर्ने भयो । सवारी साधनको उपलब्धता छैन अब तपाईले जिस्काउँदै ठट्टा भएपनि दाईको सहयोग लिन सक्नुहुन्छ ।

त्यतिमात्रै होईन दाजुले पनि बहिनीबाट धेरै कुरा सिक्न सक्छन् ।

ईमान्दारीता

प्रयास

सहनशिलता

अनुशासन

प्रचलित कानून

सामाजिक सञ्जाल र तिनको प्रयोग

सामाजिक सञ्जाल र त्यहाँ रहेका विभिन्न ग्रुपहरुबीचमा भइरहेको कुराकानी
ट्रेन्डिङ

दाजुले पनि बहिनीलाई आफ्ना समस्या, जिज्ञासा, वर्तमान भइरहेको सवालमा कुराकानी गर्ने सल्लाहसुझाव लिने गर्न सक्छन् ।