महेन्द्रनगर म्युजियममा ‘अप्स एन्ड डाउन’, थ्रीडी र इलुजन​​​​​​​
2020/11/17, 9:22
 
tourist

दीपक नेपाल-  क्याप्टेन वेद उप्रेती ट्रस्टले कञ्चनपुर महेन्द्रनगरमा स्ट्याचु अफ सिद्धनाथबाबा र म्युजियम सञ्चालनमा ल्याएको छ। ट्रस्टका सञ्चालक क्याप्टेन उप्रेतीले म्युजियम र स्ट्याचु अफ सिद्धनाथबाबा सर्वसाधारणका लागि खुला गरेको जानकारी दिए।

सात वर्षदेखि निर्माणाधीन संग्रहालय गत वैशाखमै सञ्चालनमा ल्याउने लक्ष्य थियो। तर, कोरोना प्रसार रोक्न देशव्यापी लकडाउन भएका कारण निर्माण कार्य ठप्प भएको थियो। लकडाउन खुकुलो बनेपछि मात्र काम अगाडि बढेको थियो।  यसअघि क्याप्टेन उप्रेती ट्रस्टले कैलाली धनगढीमा एयरक्राफ्ट म्युजियम र काठमाडौंमा एभिएसन म्युजियम सञ्चालनमा ल्याइसकेको छ।

1

ट्रस्टले तेस्रो परियोजनाका रूपमा काठमाडौं र धनगढीभन्दा फरक ढाँचाको म्युजियम महेन्द्रनगरमा स्थापना गरेको हो। यस म्युजियमको एक हिस्साका रूपमा ‘अप्स एन्ड डाउन म्युजियम’ छ, जुन त्यस प्रकृतिको नेपालकै पहिलो म्युजियम हो।  म्युजियम परिसर बाहिर स्ट्याचु अफ सिद्धनाथबाबा, स्विमिङ पुल, नौ धारा, हेलिकोप्टर र सुदूरपश्चिमका पर्यटकीय स्थलका हवाई चित्रहरू छन्।

म्युजियमभित्र अप्स एन्ड डाउन, थ्रिडी र इलुजन सेक्सन छन्। खासगरी, युवायुतीलाई लक्षित गरेर बनाइएको यो म्युजियम धार्मिक दृष्टिबाट पनि महत्वपूर्ण हुने क्याप्टेन उप्रेतीको विश्वास छ।  क्याप्टेन उप्रेती र उनकी आमा सरस्वतीले म्युजियमका लागि जग्गा दान दिएका छन्, जसको मूल्य करिब तीन करोड रुपैयाँ छ। म्युजियम निर्माणमा उप्रेतीले चार करोड रुपैयाँ खर्चेका छन्। दुवै गरी कुल करिब सात करोड रुपैयाँ खर्च भएको उप्रेतीले बताए।

2

विदेशमा प्रशिक्षक पाइलटको जागिरबाट आर्जन गरेको चार करोड रुपैयाँ क्याप्टेन उप्रेतीले म्युजियम निर्माणमा लगानी गरेका छन्। ट्रस्टका अनुसार कोरोना संक्रमण रहेसम्म महेन्द्रनगर म्युजियमको भित्री भाग बन्द रहनेछ। तर, स्ट्याच्यु अफ सिद्धनाथबाबा तथा हेलिकोप्टरभित्रको फोटोग्राफी र म्युजियमबाहिर स्वास्थ्य सावधानी अपनाउँदै आगन्तुकलाई प्रवेश दिइनेछ। सिद्धनाथ बाबाको दर्शनार्थ बिहान १० देखि साँझ पाँच बजेसम्म खुला गरिनेछ।

ट्रस्टले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई म्युजियम प्रवेश निःशुल्क गरेको छ। अन्यको हकमा प्रवेश शुल्क ५० रुपैयाँ लाग्नेछ। म्युजियम पूर्ण रूपमा सञ्चालनमा आइसकेपछि भने विद्यार्थीका लागि एक सय र अन्यका लागि डेढ सय रुपैयाँ प्रवेश शुल्क लिने योजना छ।