बैतडीका १२ वडामा मात्रै नयाँ भवन निर्माण
2020/11/18, 8:48
 
gaupalika

बैतडीका १२ वडामा नयाँ भवन निर्माण भएका छन्। जिल्लाका ८४ वडा मध्ये १२ वडामा मात्रै नयाँ भवन निर्माण भएका हुन् ।  स्थानीय तहमा जनप्रतिनिधि आएपछि ३ वर्ष बढीको अवधिमा १२ वडाका मात्रै नयाँ भवन निर्माण भइ त्यहाँबाट सेवा प्रवाह भइरहेका छन्।

राज्य पुनर्संरचना गर्दा कुनै पनि सरकारी भवन नभएका वडालाई प्राथमिकतामा राखेर भवन निर्माण भएका स्थानीय तहहरूले जनाएका छन्। जिल्लाको सदरमुकामस्थित दशरथचन्द नगरपालिकामा अहिले वडा ७ र ८ को भवन निर्माणाधिन अवस्थामा छ।

पाटन नगरपालिकाको वडा-९, ७ र ३ मा नयाँ भवन निर्माण गरिएको छ भने वडा-१० र ४ मा भवन निर्माणको काम भइरहेको नगरप्रवक्ता लोकबहादुर भण्डारीले जानकारी दिए। उनले भने, ‘हाम्रो नगरपालिकाका १० वडा मध्ये ३ वडामा नयाँ भवन बनेका छन्। २ वडामा यो वर्ष निर्माणाधिन अवस्थामा छन्।’

पञ्चेश्वर गाउँपालिकाका ६ वडा मध्ये वडा-३ मा मात्रै भवन बनेका छ भने अन्य वडाहरूले पुरानै भवनबाट सेवा प्रवाह गरिरहेका गाउँपालिकाका प्रवक्ता दशरथ मंगोलाले जानकारी दिए। उनले भने, ‘साविकका गाविस भवन प्रयोग गरेर वडाका सेवाहरू दिइरहेका छौं।’ जिल्लाको शिवनाथ गाउँपालिकामा ३ वडामा अहिले भवन निर्माणको काम भइरहेको उपाध्यक्ष कुस्मा चन्दले जानकारी दिइन्‌। 

जिल्लाको मेलौली नगरपालिकाका ९ वडा मध्ये वडा-७ र ९ मा मात्रै आफ्ना पुराना भवन छन् भने अन्य वडाहरूमा भाडाका घरमा सञ्चालन भइरहेका छन्। चालु आर्थिक वर्षमा केही वडाका नयाँ भवन बनाउने तयारी भएको नगरप्रवक्ता सुरतसिंह नेगीले जानकारी दिए।यस्तै, दोगडाकेदार गाउँपालिकाका ८ वडा मध्ये कुनैमा पनि नयाँ भवन बनेका छैनन्। केही वडामा पुराना भवन र केही भाडाका घरमा सञ्चालन भइरहेका गाउँपालिकाका कार्यालय सहायक अम्बादत्त जोशीले बताए।

जिल्लाको सुर्नया गाउँपालिकाको वडा-३ मा मात्रै नयाँ भवन बनेको छ। अन्य वडा कार्यालयहरू साविकका गाविस भवन र भाडाका घरमा सञ्चालन भइरहेका छन्।  पुर्चौंडी नगरपालिकाको वडा-७ मा नयाँ भवनबाट सेवा प्रवाह भइरहेको छ भने अन्य ४ वडामा भवन निर्माण कार्य जारी छ डिलाशैनी गाउँपालिकामा पनि ७ वटै वडामा पूरानै भवनबाट सेवा प्रवाह भइरहेको छ।

स्थानीय तहमा जनप्रतिनिधि आएपछि सबैभन्दा बढी सिगास गाउँपालिकामा ६ वडाका नयाँ भवन निर्माण भएका छन्। वडा-१, ३, ४, ५, ७ र ९ मा नयाँ भवनबाट सेवा प्रदान भइरहेको गाउँपालिका अध्यक्ष हरिसिंह धामीले जानकारी दिए।