धनगढीको जुगेडामा रहेको सिमा नाकामा गस्तीमा खटिएका प्रहरी हत्यामा संलग्न रहेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कैलालीको थुनुवा कक्षमा रहेका एक जना आरोपीलाई कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा एक साता अघि गरिएको परीक्षणमा उनलाई संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
उनी अहिले प्रहरी कार्यालय भित्रैको आईसोलेसनमा छन् । उनलाई संक्रमण भएकै कारण प्रहरी हत्याको मिसिल तयार भए पनि प्रहरीले अदालतमा उपस्थित गराउन नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका सहप्रवक्ता हिक्मत थापाले जानकारी दिए । १४ दिन पुगेपछि उनको परीक्षण गर्ने र रिर्पोट नेगेटिभ आएपछि अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ ।
गत कार्तिक १ गते राती नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्ट जगेडाका ईन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिक र जवान राम बहादुर साउँदको उनी लगायत तस्कर समूहले हत्या गरिएको थियो । हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले ८ जनालाई पक्राउ गरिसकेको छ ।