धनगढीमा प्रहरी हत्याकाण्डको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाईएको छ । दुई जना प्रहरीको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका ७ जना अभियुक्त, मटर व्यापारी र अनुसन्धानका क्रममा पछि खुल्दै जानेलाई कानून बमोजिम हदैसम्म कारवाहीको माग सहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाईएको हो ।
घटनाको अनुसन्धान सहितको विस्तृत विवरण सहितको प्रतिवेदन बनाएर सरकारी वकिलको कार्यालयलाई कानुनी प्रक्रिया अगाडी बढाउनका लागि प्रतिवेदन बुझाईएको जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरिक्षक हिक्मत थापाले जानकारी दिए । सरकारी वकिलको कार्यालयलाई बुझाईएको प्रतिवेदनमा घटनामा संग्लन सबैलाई हदैसम्मको कारवाही गर्न राय पेस गरिएको छ । धनगढीमा २ जना प्रहरीको हत्या घटनामा पक्राउ परेका मटर व्यापारी सहितका अभियुक्तलाई हदैसम्म कारवाही गर्न प्रहरीले सरकारी वकिलको कार्यालयलाई बुझाईएको प्रतिवेलनमा राय दिएको छ ।
अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको हत्यामा संलग्न भएकाहरुलाई हदैसम्मको कारवाही गर्न जिल्ला प्रहरी कार्यालय कैलालीले सरकारी वकिललाई राय दिएको जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरिक्षक हिक्मत थापाले बताए । अनुसन्धान सकेर प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई पेस गरिएको भएपनि अगाडीको कारवाही प्रक्रिया भने ढिलो हुने भएको छ । हत्यामा संग्लन भएको आरोपमा पक्राउ परेकाहरुमध्ये एक जनालाई कोरोना संक्रमण पुष्टि भएकोले अदालती प्रक्रिया अगाडी बढाउन समय लाग्ने भएको हो ।
अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाईसकेको अवस्थामा अभियुक्तलाई कोरोना देखिएपछि अदालत पेश गर्न नसकेको सहायक प्रवक्ता थापाले बताए । उनका अनुसार कोरोना संक्रमण देखिएका अभियुक्तको रिर्पोट नेगेटिभ आएपछि अदालत पेस गरिनेछ । गत कार्तिक १ गते नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्ट जुगेडामा कार्यरत प्रहरी सहायक निरीक्षक बिक र प्रहरी जवान साउँदको हत्या गरिएको थियो ।
विभत्स हत्या गरेको अवस्थामा उनीहरु दुवै जनाको शव मोहना नदीमा फेला परेको थियो । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले जुगेडाकै ७ जनालाई पक्राउ गरेको छ भने हत्याका नाईके भनिएका एक जना अझै फरार छन् । मटर तस्करीमा अवरोध गरेपछि प्रहरीको हत्या गरेको अभियुक्तको बयानका आधारमा धनगढीकै व्यापारी राजीव गुप्तालाई समेत प्रहरीले पक्राउ गरेर अनुसन्धान अगाडी बढाएको थियो ।