लकडाउनमा अग्रमोर्चामा खटिएका प्रहरीको सडकमै बास,  सडकमै आराम
2020/05/28, 8:40
 
police

कोरोनाको संक्रमण र त्यसपछि नियन्त्रणका लागि जारी गरिएको लकडाउनमा अग्रमोर्चामा खटिएका प्रहरीको सडकमै बास हुन थालेको छ । सुदूरपश्चिमको साविकको क्षेत्रीय सदरमुकाम डोटी जिल्लामा खटिएका प्रहरीको सडकमै बास हुन थालेको हो । गौरीफन्टा र गड्डाचौकी नाकाबाट भारतमा अलपत्र नेपालीको उद्धार सुरु भएपछि प्रहरी कर्मचारीले आफ्नो कार्यालय जानका लागि समेत फुर्सद पाएका छैनन ।

‘भारतमा अलपत्र दाजुभाईको उद्धार सुरु भएदेखि एउटै कार्यालयमा कार्यरत प्रहरीको समेत भेट हुन छोडेको  ईलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायव निरिक्षक रमेश शाहीले जानकारी दिए । खाना खाने समयमा मात्रै एक पटक भेट हुन्छ । बाँकी सयम सडकमै बिताईरहेको उनले बताए । 

वन क्षेत्रमा गाडी रोकेपछि भारतबाट फर्किएका नेपालीहरु फ्रेस हुने गरेका छन् । सो समयमा प्रहरी कर्मचारी पनि सडकमै सुतेर आराम गर्छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक करन बोहराले पनि दरबन्दी अनुसार प्रहरी नहुँदा व्यवस्थापनमा समस्या थपिएको बताए । डोटी जिल्लामा चार सय २६ जनाको दरबन्दी छ रहेकोमा दुई सय २६ जना प्रहरी कर्मचारी मात्रै उपलव्ध छन । उनीहरु मध्ये अहिले अधिकाशं प्रहरीलाई क्वारेन्टाइनमा खटाईएको छ ।

भारतबाट फर्किएका नेपालीलाई गन्तव्य पुगाउन समस्या भईरहेका प्रहरीहरु चौबिसै घण्टा ड्युटीमा खटिदा सडकमै वास र सडकमै आराम हुने गरेको छ ।