बैतडीमा आइसोलेसन बेड अभाव, आरडीटी पोजिटिभ आएका ८ प्रहरी र एक प्रहरीकी श्रीमती टेन्टमा बस्न बाध्य
2020/05/28, 8:44
 
korona

आइसोलेसन बेड नहुँदा जिल्लामा आरडीटी पोजिटिभ आएका ८ प्रहरी र एक प्रहरीकी श्रीमतीलाई टेन्टमा बस्न बाध्य भएका छन् । उनीहरूलाई बसपार्क स्थित थालीगाडा प्रहरीचौकी नजिकै टेन्ट बसाइएको हो । सदरमुकामस्थित जिल्ला अस्पतालमा तीन वटा मात्र आइसोलेसन बेड छन् । तिनमा एक जना कोरोना संक्रमित युवा र अन्य दुई शंकास्पद बिरामीलाई राखिएको छ ।

आइसोलेसन बेड नभएकाले आफैं टेन्टको व्यवस्था गरेर प्रहरीहरूलाई जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए । आइसोलेसन बेडको अभावै रहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेश भट्टले बताए । अहिले उनीहरू कोराना संक्रमित नै हुन् भन्ने पुष्टि भइनसकेको र स्वास्थ्य अवस्था सामान्य रहेकाले प्रहरीलाई नै व्यवस्थापन गर्न भनिएको उनको भनाइ छ । आरडीटी पोजिटिभ आएका उनीहरूको पीसीआरका लागि स्वाब संकलन मात्र गरिएको छ ।

गत शुक्रबार जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा रहेका २२ वर्षका पुरुषमा कोरोना पोजिटिभ देखिएपछि उनीसंँग प्रत्यक्ष सम्पर्कमा आएका प्रहरी, अदालतका कर्मचारी र स्वास्थ्यकर्मी गरी ७२ जनाको स्वाब परीक्षणका लागि धनगढी पठाइएको थियो । तिनमा ५४ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख योगेश भट्टले बताए ।

उनका अनुसार संक्रमितको परिवारसँगै केही प्रहरी र स्वास्थ्यकर्मी गरी १८ जनाको रिपोर्ट आउन बाँकी छ । थुनुवामा कोरोना देखिएपछि सिल गरिएको जिल्ला प्रहरी कार्यालयले मंगलबारदेखि नियमित काम सुरु गरेको प्रहरी नायब उपरीक्षक पाण्डेयले बताए ।