बैतडीमा गाई मृत फेला घटनाः  गौ हत्याको आशंकामा एक जना पक्राउ
2020/11/20, 6:31
 
corona

बैतडीमा मृत अवस्थामा फेला परेका गाई हत्याको आशंकामा एक जना पक्राउ परेका छन् । पुर्चौडी नगरपालिका ५ कुवाकोटका २४ वर्षीय लक्ष्मण पार्कीलाई पक्राउ गरिएको छ । पार्कीलाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बैतडी ल्याउन लागेको प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए । 

पुर्चौडी नगरपालिका वडा नम्बर ६ को सिगास सामुदायिक वन क्षेत्र अन्तरगतको भेरीखोला मुहानमा ११ वटा गाई मृत अवस्थामा भेटिएका थिए । स्थानीयले केही व्यक्तीले गाई व्यवस्थापन गर्ने भन्दै रकम लिएर ती गाईलाई नियोजित रुपमा भीरबाट खसालेको आशंका गरेका थिए । पाटन नगरपालिकाबाट गाई व्यवस्थापनका लागि जिम्मा पाएकाहरुले नै टिप्परबाट गाई खोलामा खसालेको उनीहरुको आशंका थियो । 

पुर्चौडी नगरपालिकाको कुवाकोटका सुरेश पार्की र लक्ष्मण पार्कीले नगरपालिकासँग सम्झौता गरेर ३४ वटा गाई लिएका थिए । उनीहरुलाई सो नगरपालिकाले प्रति गाई २ हजार रुपैयाँ समेत दिएको पाटन नगरपालिकाका प्रवक्ता लोकबहादुर भण्डारीले जानकारी दिए ।