भवानी मावि, गौरीपुर यो कथाको प्रवेश बिन्दु हो । ०६३, माघको कुनै दिन नेपाली शिक्षक चित्रा भट्ट विद्यार्थीलाई चौरमा भेला गरेर पारिलो घाममा कोर्सभित्र र बाहिरका विषयवस्तु पढाउँदै थिईन् । ‘नेपालले दुई सय मिटर स्ट्रिपल चेज र पाँच हजार मिटरमा जितेका पदक खोसियो’ चित्राले यस्तै केही भनेको हुनुपर्छ । चौरमा सुनिरहेका विद्यार्थीमध्ये गोपीचन्द्र पार्की पनि थिए । उनलाई आज दुरुस्तै याद त छैन्, तर ‘पाँच हजार मिटरमा हात पारेको नेपालको पदक खोसियो’ भन्ने शब्द भने अझै कानमा गुञ्जिरहेझैँ लाग्छ ।
जुन शब्दले उनको जीवन यु–टर्न भयो । दौडेर पनि पदक जितिन्छ भन्ने गोपीचन्द्रले सुनेको यो नै पहिलो पटक थियो । तर ‘पदक खोसिएको’ शब्द उनको मुटुमा काँडासरी बिझिरह्यो । ‘कसले खोस्यो होला, नेपालीले जितेको पदक ? किन लुटिए होलान् ती जित्ने मान्छे ? लुटेरा को होलान् ? यी र यस्तै अनुत्तरित जिज्ञासा बोकेर गोपी डेढ किलोमिटर पर रहेको घर पुगे । राति खाना रुचेन, गृहकार्य पनि नगरी सुते ।
पदक फिर्ता ल्याएर आमालाई दिँदा आमाको अनुहार निकै चम्किलो भएको थियो, स्कुलमा भव्य कार्यक्रम चल्दै थियो । ‘होइन, आज यो कति सुतेको ? स्कुल जाने होइन ?’ बिहान आमा कराएपछि ‘गोपी’को देखिरहेको सपना टुट्यो, उनी सपनाबाट बिउँझिए । गाउँका ठूला दाइहरू धनगढीको मुख्य बजारसम्म पुगेर पत्रिका पढ्थे । भर्खरै माओवादी द्वन्द्व शान्ति प्रक्रियामा आएको थियो । संविधान सभाको सम्भावित चुनावबारे गाउँका चिया पसलमा चर्चा सुरु भएको थियो । ‘खोसिएको पदक’ बारे सुन्नु अघिसम्म गोपीलाई पनि यस्ता विषयमा चाख थियोे, तर अब उनी बदलिए । ट्युसन पढ्न घरबाट झन्डै पाँच किलोमिटर टाढा जानुपथ्र्यो । पहिले साइकल चढेर जाने गोपी अब पैदलै हिँड्न थाले ।
गोपीको ध्यान दौडमै केन्द्रित हुन्थ्यो । उनले केही साथीलाई धावक बन्ने आफ्नो योजना सुनाए, तर भारतसँग सीमा जोडिएको सुदूरपश्चिमको धनगढी स्थित त्यो सुदूर गौरीपुर गाउँमा उनको सपना कसैले बुझेनन् । नौ कक्षाको नतिजा सार्वजनिक भएपछि भने घरमा सबैले सोधखोज गर्न थाले, किनकि सँधै तेस्रो हुने छोरो बल्लतल्ल ग्रेस नम्बर जोडेर पास भएकोे थियो । दौडमा भने उनी दिन प्रतिदिन अब्बल बन्दै थिए । भाले नबास्दै दौडन निस्कन्थे । कहिलेकाहीँ त राति पनि दौडने सुर चल्थ्यो गोपीचन्द्रलाई । ‘एक दिन झिसमिस उज्यालो भइसकेजस्तो लाग्यो । झन्डै ४५ मिनेट हिँडेपछि बल्ल महसुस हुन थाल्यो–बिहान हुने छाँटै छैन ।
त्यसपछि म घर फर्किंए,’ गोपी सम्झन्छन्, ‘घरबाट म निस्कुनु अघि ढोकाको आवाजले आमाको निन्द्रा खुलेछ, मेरो कोठामा आएर हेर्दा देख्नु भएनछ । म घर फर्किएपछि मात्रै उहाँको चिन्ता दूर भयो ।’ सुखद स्मृति पनि छन्– स्कुल स्तरीय, जिल्ला स्तरीय हुँदै क्षेत्रसम्म उनले लगालग एथलेटिक्समा स्वर्ण जिते । त्यसपछि गाउँमा ठूलै इज्जत मिल्यो । स्थानीय पत्रपत्रिका र रेडियोमा उनीसँगै गौरीपुरको नाम जोडिएर आयो । गाउँले पनि दंग परे । छरछिमेकबाट तारिफ सुनेपछि आमा–बाबु त खुसी हुने नै भए ।
गोपी सुदूरपश्चिम क्षेत्रको प्रतिनिधित्व गर्दै अन्तर–विद्यालय स्तरीय राष्ट्रिय प्रतियोगिता खेल्न काठमाडौं जाँदा उनमा गर्व र खेल जितेरै छाड्ने आत्मविश्वास थियो । तर, आठ खेलाडी सहभागी भएको चार सय मिटर तर्फको प्रतिस्पर्धामा उनी अन्तिम भए । पहिलो हुने खेलाडी टेलिभिजनका क्यामेरा र फोटोग्राफरबाट घेरिए, पुछारका गोपीलाई न कसैले चिन्यो न गन्यो । खेलकुदमा जित्न मात्रै जानेका गोपीले हार्नुको पीडा पहिलोपल्ट अनुभूति गरे ।
केही महिनापछि अर्को प्रतिस्पर्धा खेल्न उनी काठमाडौं गए । यस पटक उनको प्रदर्शन केही सुध्रिएको थियो । अन्य क्षेत्रबाट सिनियर खेलाडीले प्रतिस्पर्धा गरेका थिए । राम्रो प्रदर्शन पुलिस, आर्मी र एपिएफका खेलाडीले गरे । राम्रो प्रदर्शनका लागि राम्रै तयारी, सन्तुलित आहार र पर्याप्त प्रशिक्षण चाहिन्छ भन्ने गोपीले बुझे । जित–हारले युवावस्थामै गोपीलाई परिपक्व बनाउँदै थियो, तर स्वास्थ्यले एक्कासी धोका दियो–उनलाई कडाखाले जन्डिस भयो ।
जीवन–मरणको दोसाँधमा पुगेका गोपीलाई गाउँका धामी–झाँक्री त के भारत पञ्जाबका विशिष्ट डाक्टरको औषधीले पनि छोएन । जन्डिसकै कारण उनले आफ्नो ब्याजका अन्य साथीहरूसँग एसएलसी दिन पाएनन् । एथलेटिक्ससँगको नाता टुट्यो । परिवारले चिकित्सककै परामर्शमा आयुर्वेदिक औषधी सेवन गरायो, जसले सोचेभन्दा चाँडो सुधार ल्यायोे । अलि निको भएपछि गोपीले फेरि सपना देख्ने साहस गरे, ‘कुद् गोपी कुद्,’ सायद मनले यस्तै भन्यो ।
खेलाडी बन्ने हुटहुटीले नै उनलाई पुलिस बनायो । ०६६ सालमा सशस्त्र प्रहरी बल (एपिएफ)मा भर्ना भए । अत्तरिया स्थित वैद्यनाथ बाहिनीमा तालिम लिएर केही समयपछि उनी ड्युटीका लागि खप्तड गुल्म, अछाममा खटिए । अग्ला पहाडहरू सुन्दर थिए, तर ती पहाडभन्दा गोपीको सपना ठूलो थियो । यही बुझेर खप्तड युनिटले गोपीलाई छैटौँ राष्ट्रिय प्रतियोगिताको छनोट खेल्न कैलालीको अत्तरिया पठायो, त्यहाँ उनी जिल्ला प्रथम भए । तर, छनोट यात्रा यसभन्दा अघि बढेन ।
‘खप्तड साँच्चै सुन्दर छ । त्यहाँ म निकै खुसी थिएँ,’ नोस्टाल्जिक हुँदै गोपीले भने, ‘तर राम्रो खेलाडी बन्नका लागि त्यहाँ होइन, काठमाडाको एपिएफ क्लबमा बसेर नियमित प्रशिक्षण गर्नुपर्छ भन्ने बोध मलाई भयोे ।’ खप्तडबाट काठमाडौं आएर उनले सिसम ५ एसटिएफ कार्यदल गणमा तालिम लिए । ‘स्पेसल टास्क फोर्स (एसटिएफ) निकै कठिन तालिम हो । यहाँ, १८ केजी बालुवा बोकेर तीन घन्टा कुद्नुपर्छ । मलाई हरेक चुनौतीसँग लड्न सक्नेगरी आत्मविश्वासी बनाउन यस तालिमको ठूलो भूमिका छ,’ उनले सम्झिए ।
पाँच हजार मिटर दौडमा एपिएफ क्लबको आन्तरिक प्रतिस्पर्धामा प्रथम भएपछि एपिएफ क्लबमा आबद्ध हुने ढोका खुल्यो । एसटिएफ बटालियनका तत्कालीन गणपति नारायणदत्त पौडेल, एथलेटिक्स प्रशिक्षक सुनिल नरसिंह राणा र एपिएफ क्लबका तत्कालीन शाखा इन्चार्ज तत्कालीन डिएसपी माधव रेग्मीले उनलाई क्लबमा ल्याउन ठूलो योगदान गरे । एपिएफ क्लबमा आएको तीन महिनामै गोपी राष्ट्रिय टोलीमा छनोट भए । तर, यसपछिको यात्रा कम चुनौतीपूर्ण थिएन ।
उनले दक्षिण कोरियाको ईन्चोनमा भएको १७ औँ एसियाली खेलकुदमा पाँच हजार मिटरतर्फ प्रतिस्पर्धा गरे । तर, प्रदर्शन राम्रो भएन । १२ औँ सागमा १० हजार मिटरमा प्रतिस्पर्धा गरे, त्यहाँ पनि पदक जित्न सकेनन् । भारतमा साग खेलेर फर्किएको केही महिनामै उनी जन्डिस दोहोरिएर फेरि थला परे, नौ महिना प्रशिक्षण प्रभावित भयो । ०७२ फागुनमा बिरामी भएका गोपी ०७३ कात्तिकमा आएर बल्ल हल्का दौडन सक्ने भए ।
सातौँ राष्ट्रिय खेलकुदका लागि दुई महिना मात्रै प्रशिक्षण गरेका गोपीचन्द्रले प्रतियोगितामा १० हजार मिटर र पाँच हजार मिटर दौडमा स्वर्ण जिते । आठौँमा पनि यी दुवै इभेन्टस्मा सफलता दोहो¥याए । म्याराथनमा पनि उनले राम्रै खेलिरहेका थिए । १३ औँ सागको बन्द प्रशिक्षण चलिरहँदा प्रशिक्षकहरू नै दोधारमा थिए–म्याराथनमा खेलाउने, पाँच हजार मिटर वा १० हजार मिटरमा । अन्नतः राष्ट्रिय टोलीका प्रशिक्षक धनीराम चौधरी र छविलाल थापाले गोपीको चाहना बुझेरै उनलाई पाँच हजार मिटरमा प्रतिस्पर्धा गराउने निर्णय लिए ।
घरेलु ट्रयाक, दर्शकको साथ र हौसला । गोपीले १४ वर्षदेखि पछ्याइरहेको सपना पूरा गर्ने यो स्वर्णिम अवसर थियो । तर, प्रतिस्पर्धी खेलाडीले सुरुदेखि नै डिस्ट्रक्टिभ गेम खेले, सबै खेलाडीको रणनीति अरूलाई थकाउनेमा केन्द्रित थियो । त्यसैले, दौड सुरुदेखि नै स्लो देखियो । गोपीलाई अघि बढ्न खोज्दा भारतीय खेलाडीले नियम संगत ब्लक पनि गरे ।
प्रतिस्पर्धाको अन्त्यतिर गोपी र नेपालका अर्का खेलाडी हरिकुमार रिमाल दुई भारतीय खेलाडीभन्दा झन्डै दुई पाइला पछाडी थिए । अन्तिम ल्याप्ससम्म पनि कसैले स्पिड बढाएको थिएन । दुई सय मिटर बाँकी छँदा एक भारतीय खेलाडी र नेपाली खेलाडी हरिकुमार रिमालले स्पिड बढाए, यतिवेला गोपी पछाडी नै थिए । अन्तिममा एकै पटक जित्छु भनेर उनी विश्वस्त थिए ।
एक सय १० मिटर बाँकी छँदा आफ्नो भएभरको ताकत लगाएका गोपीले ३० मिटर बाँकी छँदा प्रतिस्पर्धीलाई उछिने । उनले भारतीय खेलाडीभन्दा एक सेकेन्ड अघि फिनिसिङ लाईनमा आफ्नो पाईला राखे । ‘जसरी पनि स्वर्ण जित्छु भन्ने थियो । भारतीय मात्र होईन जोसुकैले पनि मलाई रोक्न सक्ने अवस्था थिएन ।’ सपनाको फिनिस लाईन पूरा गरेपछि उनले भनेका थिए, ‘राजेन्द्र भण्डारीको जीवनबाट प्रेरित भएर दौडन थालेको हुँ ।
देशका लागि गुमेको पदक फिर्ता ल्याउने सपना पुरा !
२०६३ सालमा राष्ट्रपति रनिङ सिल्डबाट पार्कीको दौड यात्रा शुरु भएको उनले एक सार्वजनिक कार्यक्रममा भनेका थिए । धनगढीका पार्की जिल्लाबाट केन्द्रसम्म पुग्दै अन्तर्राष्ट्रिय पदक जित्दा आफुले १४ बर्षसम्म मेहनत गर्नु परेको बताउँछन् । जिल्लामा हुँदा पनि गोपीचन्द्र खुबै मेहनती खेलाडी रहेको नेपाल एथलेटिक्स संघका वरिष्ठ उपाध्यक्ष तेजेन्द्र थापाले बताए । ‘गोपी निकै मेहनती खेलाडी हुन् । उनले जिल्लादेखि यहाँसमम आइपुग्न निकै धेरै मेहनत गरेका छन्,’ थापाले भने ।
अबको लक्ष्य २ घण्टा १५ मिनेटकोे समयको कीर्तिमान तोड्ने !
अघिल्लो बर्ष सागमा स्वर्ण जितेका पार्की अबको आफ्नो लक्ष्य कीर्तिमानधारी बैकुण्ठ मानन्धरको २ घण्टा १५ मिनेटकोे समयको कीर्तिमान तोड्ने लक्ष्यमा छन् । धावक बैकुण्ठले म्याराथनमा बनाएको सो कीर्तिमान नेपाली खेलाडीले तोडोस् भन्ने चाहन्छन् । तर, अहिलेसम्म दक्षिण एसियाली खेलकुदमा यो रेकर्ड कसैले पनि तोड्न सकेका छैनन् । ‘बैकुण्ठ गुरुको योजना छ । उहाँको २ घण्टा १५ मिनेटको म्याराथनको रेकर्ड कुनै नेपाली खेलाडीले तोडिदिओस् भन्ने । अब म म्याराथन खेल्छु, त्यो रेकर्ड तोड्छु, पार्कीले भने, ‘यसअघि पनि मैले ६ म्याराथनमा दौडिसकेको छु ।’
टोकियो ओलम्पिकको यात्रा, उत्कृष्ट प्रदर्शनको आशा
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा नेपाललाई ऐतिहासिक गुमेको गोल्ड मेडल फिर्ता ल्याउन सफल पार्की टोकियो ओलम्पिकका लागि छनोट भएका छन् । धनगढीका धावक पार्कीले नेपालगन्ज म्याराथनको छैटौं संस्करणमा शनिबार विजेता बनेसँगै टोकियो ओलम्पीकमा स्थान पक्का गरेका हुन् । ओलम्पिकमा एथलेटिक्स खेलाडीले भाग लिने नेपालगन्ज म्याराथन अन्तिम छनोट प्रतियोगिता रहेकोले त्यसमा विजेता हुदैं उनले यात्रा टोकियो ओलम्पिकसम्म पुगेको हो ।
उनले अब ओलम्पिक र एसियन गेम्समा सहभागिता मात्र नभई पदकको दाबेदारका हिसाबमा नेपालको चुनौती प्रस्तुत गर्ने बताए । अहिलेसम्म राष्ट्रिय कीर्तिमान र सहभागिताका लागि मात्र ओलम्पिक र एसियन गेम्समा सहभागिता हुने परम्पराको अन्त्य गर्ने उनको भनाई छ । १३ औं सागमा ५ किलोमिटरमा स्वर्ण जितेका उनले मिडिल अडरको दौड छाडेको बताए । उनले म्याराथनमा मात्र कीर्तिमान भएकाले त्यो ब्रेक गर्न आफूले मिडिल अडरको दौड छाडेको बताए ।
आफू जन्मिनुभन्दा दुई वर्ष अगाडी बनेको कीर्तिमान ब्रेक गर्नु आफ्ना लागि पनि कोसेढुङ्गा नै साबित हुने उनको बुझाइ छ । ‘गुमेको पदक फिर्ता ल्याउने सपना अघिल्लो बर्ष नै पूरा भएको छ । अबको लक्ष्य ओलम्पिकमा उत्कृष्ट खेल्ने हो ।’ उनले भने– ‘सपनाको सिमाना हुन्न, जसले पनि देख्न सक्छ, तर पूरा गर्न पछ्याउनै पर्छ ।’ सपना पूरा गर्न स्पष्टता, प्रतिबद्धता र मिहिनेत चाहिन्छ भन्ने सन्देश गोपीको सफलताले दिएको छ ।