आठ महिनादेखि बन्द रहेका दिपायल सिलगढी नगरपालिकाका विद्यालय खुले
2020/11/23, 7:30
 
corona

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण गएको आठ महिनादेखि बन्द रहेका डोटीको दिपायल सिलगढी नगरपालिकाका सबै विद्यालय आइतबारदेखि खुलेका छन् । नगरपालिकाको शिक्षा समिति तथा यहाँका विद्यालय व्यवस्थापन समितिको बैठकले कोरोनाका कारण लामो समयदेखि बन्द भएका विद्यालय आइतबारदेखि खोल्ने निर्णय गरेसँगै पढाइ हुन थालेको दिल्पेश्वर मावि दिपायलका शिक्षक गोविन्दराज जोशीले बताए । 

उहाँले भन्नुभयो, ‘आठ महिनादेखि विद्यालय बन्द हुँदा विद्यार्थीको पढाइमा निकै घाटा भएको छ, सामाजिक दुरी कायम गर्दै र कोरोना सङ्क्रमणबाट जोगिने विभिन्न प्रविधि प्रयोग गरी आइतबारदेखि पढाइ सुुरु गरेका छौँ ।’ नगरपालिका अन्तर्गत रहेका माध्यमिक तह र क्याम्पस तहका कक्षा आइतबारदेखि खुलाउने निर्णय गरी पढाइ सञ्चालन गर्न पत्राचार गरिएको नगर शिक्षा शाखा सिलगढीले जनाएको छ । शैक्षिक सत्र खेर जाने जोखिम बढेपछि सरकारले विद्यालय सञ्चालन गर्न दिने भएपछि स्वास्थ मापदण्ड अपनाइ बन्द रहेका विद्यालय खोली कक्षा सञ्चालन गर्न अनुमति दिएको क्षेत्रीय शिक्षा विकास निर्देशनालय दिपायल राजपुरले जनाएको छ । 

विद्यालयमा हात धुने पानी, स्वास्थ्य तथा सरसफाइ सुविधाको व्यवस्था गर्ने–गराउने, खोकी लाग्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने, अनिवार्य रुपमा विद्यालयमा थर्मल गन राखी तापमान जाँच गर्ने लगायतका अन्य सुरक्षा उपकरण प्रयोग गरी विद्यालय सञ्चालन हुन लागेको अमरज्योति स्कुल दिपायल पिपल्लाका अध्यक्ष धनबहादुर शाहीले बताए । आठ महिनादेखि बन्द रहेका विद्यालय सञ्चालन भएपछि अभिभावक तथा विद्यार्थीहरु निकै खुसी भएको दिपायल सिलगढी नगरपालिका ४ का मीनबहादुर कठायतले बताए ।