एसएसबीलाई आग्रह 'हिउँदमा हाम्लाई केही भए उद्धार गरिदिनू'
छाङरुमा भवन नपाएपछि सशस्त्र र नेपाल प्रहरी हिउँ छल्न भाडाको घरमा
2020/11/26, 12:03
 
charung

दार्चुलाको व्यास गाउँपालिका १ छाङरु र तिंकरमा यसपाली हिउँदमा सुरक्षा फौज बस्ने भएको छ। भारतसँग जोडिएको छाङरु र चीनसँग जोडिएको तिंकर गाउँको सुरक्षाका लागि सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको फौज यहाँ बसेको हो। यसअघिका वर्षहरुमा हिउँदमा प्रहरीहरु तल झर्दै आएका थिए। सशस्त्रको उपस्थिति थिएन।

1

यसपाली छाङरुमा १६० जना दरबन्दी रहने सशस्त्र प्रहरी बलको गुल्म नै स्थापना भएको छ। सरकारले गत असार अन्तिम साता सशस्त्रको ५० नम्बर गुल्मलाई सदरमुकाम खलंगाबाट छाङरुमा सार्ने निर्णय गरेको थियो। डीएसपी धीरेन्द्र शाहको कमाण्डमा गुल्म स्थापना भइसकेको छ। गृहमन्त्री रामबहादुर थापाले असोज ९ गते गुल्म भवनको शिलान्यास गरेका थिए। यद्यपि कात्तिकभित्र एक तल्ला ठड्याउने भने पनि भवन बनेन।

बस्नलाई भवन नपाएपछि अस्थायी रुपमा स्थानीय जितसिंह बोहराको होटललाई भाडामा लिएर गुल्म बनाएका सशस्त्र प्रहरीले उक्त होटलमै जाडो कटाउने भएका छन्। छाङरुमा ७ फिटसम्म हिउँ पर्छ। ७ फिटको हिउँ परम्परागत घरमै बसेर कटाउन सशस्त्र प्रहरी कर्मचारीले जोहो थालेका छन्। सशस्त्र प्रहरीले हिउँद कटाउन काठको अस्थायी बस्ने घर बनाएको छ। जसमा आगो बालेर हिउँ परेका बेला तापेर बस्न मिल्नेछ।

हिउँद कटाउन नेपाल प्रहरीले भाडामा लियो घर

नेपाल प्रहरी पनि यसपाली पहिलोपटक हिउँदमा छाङरुमा बस्दै छ। छाङरुको सीतापुलमा २०२७ सालमै प्रहरी चौकी स्थापना भए पनि द्वन्द्वकालमा विस्थापित भएको थियो। तत्कालीन विद्रोही माओवादीबाट केही प्रहरी मारिएका थिए। विस्तृत शान्ति सम्झौतापछि छाङरु र तिंकरमा प्रहरी फेरि खटिँदै आएको छ। तर अघिल्ला वर्षहरुमा हिउँदमा तल झर्दै आएको थियो। यसपटक सशस्त्रको गुल्मै स्थापना भएर बस्ने भएपछि प्रहरी पनि बस्ने भएको हो।

2

छाङरुमा प्रहरीको भवन जीर्ण छ। सामान्य मर्मत गरी कामचलाउ बनाइएको छ। प्रहरी कर्मचारीले हिउँद भने भाडाको घरमा काट्ने भएका छन्। प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलका अनुसार ६ महिनाका लागि मासिक ८ हजार भाडा तिर्नेगरी स्थानीय अञ्जली बोहराको दुई तले घर भाडामा लिएका छन्। हाल छाङरुमा असई देवदत्त भट्टको कमाण्डमा प्रहरी चौकी सञ्चालनमा छ।

हिउँदमा छाङरुमा बस्ने नेपाल प्रहरीका कर्मचारीलाई राशन र लत्ताकपडाको चिन्ता छ। पर्याप्त राशन छैन। बाक्लो कपडाको पनि अभाव नै छ। 'राशनको समस्या छ। अब ढुवानी कसरी गर्ने?' एक प्रहरी अधिकारीले गुनासो गरे, 'कपडा र जुत्ता पनि छैन। दु:ख गरेर बस्या छौं। तर तल(खलंगा)कोले खाएर बसेको सोच्छ। दुर्गममा बस्नेलाई पुरस्कृत गर्नुपर्ने हो। त्यस्तो छैन। हामीलाई  बाह्रै मास बस्ने भवन आवश्यक छ।'

1

दुई महिनाअघि गृहमन्त्री भ्रमणमा आउँदा सशस्त्र बस्ने भए नेपाल प्रहरी किन नबस्ने भनेपछि प्रहरी पनि हिउँदमा जोहो गरेर बस्न लागेको हो। सशस्त्रको तुलनामा प्रहरी बस्ने घर बलियो र उचाईंमा छ। सशस्त्र बस्ने घर तिंकर खोलाको छेउ गागाबगरमा छ भने नेपाल प्रहरीले भाडामा लिएको भवन बस्तीको बीचमा उचाईमा छ।

उद्धारका लागि एसएसबीलाई अग्रिम अनुरोध

हिउँद याममा पहिलोपटक छाङरुमा बस्न लागेका सशस्त्र प्रहरी गुल्मले केही समस्या आए उद्धार गरिदिन काउन्टर पार्ट भारतीय सशस्त्र सीमा बल (एसएसबी)लाई अनुरोध गरेको छ। 'हिउँदमा केही समस्या आयो भने एसएसबीसँग उद्धारका लागि अनुरोध गरेका छौं,' गुल्मका एक अधिकारीले भने, 'मानवीयताका हिसाबले भनेका छौं। उनीहरुको पिथौरागढमा हेलिकोप्टर स्टान्ड बाई हुन्छ। फाइटर प्लेन पनि आउँछन्। सहयोग गर्छौं भनेका छन्।'

1

सरकारले छाङरुका लागि हेलिकोप्टर चार्टर गर्ने भनेको छ। तर हेलिकोप्टर सुर्खेतसम्म मात्रै छ। त्यहाँबाट छाङरु आइपुग्न समय लाग्छ। त्यसमाथि नेपालमा भनेको बेला आइपुग्दैन। त्यहीँ भएर जटिल समस्या भएमा भारतीयलाई सहयोग गरिदिन भनिएको ती अधिकारीले बताए। काठमाडौंमा भारतविरुद्ध लड्नुपर्ने गरी राष्ट्रवादी आवाज गुन्जिए पनि सीमामा नेपाली पक्षका आफ्नै दु:ख छन्। स्थानीयदेखि स्थानीय निकायसम्म भारतमै निर्भर हुन बाध्य छन्। 

भत्तामा गुनासो

छाङरु र तिंकरमा बस्ने सुरक्षाकर्मीको अर्को गुनासो भनेको पर्याप्त भत्ता नहुनु। यहाँका सुरक्षाकर्मीले भारतका सुरक्षाकर्मीसँग आफ्नो तुलना गरेर पनि दु:ख मनाउ गर्छन्। सीमामा बस्ने भारतका सुरक्षाकर्मीलाई दिइएको पर्याप्त भत्ताबाट आफूलाई धिक्कार्छन्।

छाङरुमा बस्ने सुरक्षाकर्मीलाई २० प्रतिश मात्रै भत्ता छन्। जसमा उनीहरुको चित्ता बुझाई छैन। उनीहरुको माग कम्तीमा छाङरुमा ५० प्रतिशत र तिंकरमा बस्नेलाई ६० प्रतिशत बढी भत्ता दिनुपर्ने भन्ने छ। 'भत्ता बढी पाइएला भनेर जोखिम मोलेर यो ठाउँमा आइयो। एउटा चाउचाउकै ८० रुपैयाँ छ। भत्ता छैन। कसरी बस्ने,' एक सुरक्षाकर्मीले गुनासो गरे।

सशस्त्रका एक अधिकारीले भने, 'हाम्रो त गुल्म भएर सबै आउनै पर्‍यो। पुलिसको आउनै मान्दैन। यहाँ जनशक्ति ल्याउन धौ धौ छ। सजाय दिएजस्तो भएको छ। भत्तामा सरकारले केही हेरिदिए हुन्थ्यो।'