च्याम्पियन्स लिग : बायर्न म्युनिख र म्यानचेष्टर सिटी अन्तिम १६ मा
2020/11/26, 4:11
 
football

 जर्मन क्लब बायर्न म्युनिख र इंग्लिस क्लब म्यानचेष्टर सिटी युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेका छन् । समूह चरणमा लगातार चौथो जित हात पारेपछि अपराजित रहँदै दुई खेल अगावै दुई टोलीले अन्तिम १६ मा स्थान पक्का गरेका हुन् ।

समूह ए अन्तर्गत गएराति भएको खेलमा बायर्नले १० खेलाडीमा झर्नका बाबजुत साल्जवर्गलाई ३-१ ले पराजित गरेको हो । घरेलु मैदान एलिएन्ज एरेनामा भएको खेलमा ४३औं मिनेटमा रोवर्टो लेवान्डवस्कीले गोल गर्दै बायर्नलाई पहिले अग्रता दिलाएका थिए । ५२औं मिनेटमा किंग्सले कोमनले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे ।

६६औं मिनेटमा मार्क रोका रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि बायर्न १० खेलाडीमा झर्‍यो । तर यसले बायर्नलाई असर गरेन । ६८औं मिनेटमा लरे सानेले गोल गर्दै बायर्नलाई ३-० को अग्रता दिलाए ।

साल्जवर्गका लागि ७३औं मिनेटमा मेर्गिम बेरिशाले सान्त्वना गोल फर्काए । जितपछि समूहमा अपराजित रहेको बायर्नले ४ खेलबाट १२ अंक जोडेको छ र शीर्ष स्थानमा छ । १ अंक मात्र रहेको साल्जवर्ग चौथो स्थानमा छ ।

यसै समूहको अर्को खेलमा स्पानिस क्लब एट्लेटिको मड्रिडले रसियन क्लब लोकोमोतिभ मस्कोसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ । घरेलु मैदानमा एट्लेटिकोका लागि कोकेले ६८औं मिनेटमा गोल गरेपनि त्यसले मान्यता पाएन । भिएआर रेफ्रीले त्यस गोललाई मान्यता नदिएपछि एट्लेटिको जितबाट बन्चित रहेको हो ।

बराबरीपछि ४ खेलबाट ५ अंक रहेको एट्लेटिको दोस्रो स्थानमा छ भने ३ अंक रहेको लोकोमोतिभ तेस्रो स्थानमा छ ।

यस्तै इंग्लिस क्लब म्यानचेष्टर सिटीले समूह सी मा लगातार चौथो जित हात पार्दै अन्तिम १६ मा स्थान बनाएको हो । गएराति भएको खेलमा सिटीले ग्रीक क्लब ओलम्पियाकोसलाई १-० ले हरायो । सिटीका लागि फिल फोडेनले ३६औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो ।

जितपछि ४ खेलबाट १२ अंक जोडेको सिटी शीर्ष स्थानमा छ । यसै समूहको अर्को खेलमा पोर्चुगिज क्लब एफसी पोर्टोले  फ्रेन्च क्लब मार्सेलाई २-० ले पराजित गरेको छ । जितपछि पोर्टो अन्तिम १६ को नजिक पुगेको छ ।

अब बाँकी दुई खेलमध्ये पोर्टोले १ अंक जोडेमात्र पनि समूह चरण पार गर्नेछ । ४ खेलबाट ९ अंकसहित पोर्टो दोस्रो स्थानमा छ । समान खेलबाट ३ अंकसहित ओलम्पियाको तेस्रो स्थानमा छ । लगातार चौथो हार व्यहोरेको मार्से भने अकविहीन हुँदै चौथो स्थानमा छ ।