धान बेच्न खाद्य डिपो पुगेका किसानको ‘बेहाल’, चार दिनसम्म त्रिपालमुनि बास
2020/11/29, 6:47
 
dhan

यस वर्ष सरकारले धानको न्यूनतम खरिद मूल्य बढी तोकेसँगै खाद्य व्यवस्था तथा व्यापार कम्पनीको डिपोमा किसानको लाइन लागेको छ । धनगढीको मोहनपुरमा कम्पनी लिमिटेडको गोदाममा धान बिक्री गर्ने किसानको भिड छ । धान बिक्री गर्न आएका कृषकलाई चार दिनसम्म खुला आकासमुनि बस्नुपर्ने बाध्यता छ ।

2

कम्पनीले डिपोमा एउटा मात्रै काँटा लाउँदा किसानहरुले धान बिक्री गर्न यस्तो सास्ती खेप्नु परेको हो । कञ्चनपुर बेलौरी( ८ का किसान राजु चौधरी ४ दिनअघि धान बिक्री गर्न कम्पनीको गोदाममा पुगे । निजी व्यापारी र कम्पनीको मूल्यमा अन्तर भएपछि उनी पहिलोपटक त्यहाँ पुगेका हुन् । मंसिर ८ गते गेटा पुगेका उनी गोदाम परिसरमै खाना पकाउँदै थिए । चार चौंथो दिन पनि पालो कुरिरहेका उनलाई अझै कति दिन कुर्नुपर्ने हो थाहा छैन ।

1

बेलौरी( ६ कै हरिद्वारी राना पनि धान बेच्न आएको चार दिन भएको छ । उनको पनि पालो आएको छैन । उनका अनुसार ट्रयाक्टरमा लोड गरेर धान ल्याएका उनले पनि गोदाम परिसरमै खाना पकाउने र ट्रयाक्टरमा सुत्ने गरेका छन् । गोदाम परिसरमा गोरु गाडादेखि ट्याक्टरमा धान लोड गरेर पालो पर्खिरहेका किसानहरु लाइनमा देखिन्थे । गोरु गाडामा धान ल्याएकालाई अझै बढी समस्या हुने गरेको उनीहरुले बताए ।   

कञ्चनपुरकै छबिलाल राना पनि ३ दिनदेखि धान बेच्न लाइनमा थिए । ‘नजिक घर हुनेहरू भने गाडा गोदाम परिसरमै छोडेर घर जाने गर्छन्,’ उनले भने, ‘दिनभर गोरुगाडासहित लाइनमा बस्नुपर्छ । आफू त भोकै छौं । गोरुलाई पनि के खुवाउने भन्ने चिन्ता छ,’ रानाले समस्या सुनाए । दिनभर लाइनमा बसेर साँझ घरमा गए पनि गोरुलाई के खुवाउने भन्ने समस्या हुने उनीहरु बताउँछन् ।

खाद्यले समयमै धान खरिद नगर्दा समस्या आएको कृषकको भनाइ छ । धान बिक्रीबाट आएको रकमले गहुँ खेती गर्नुपर्ने बाध्यता किसानलाई छ । धेरैजस्तो किसानले खाद्यको भर नपरी अन्य व्यापारीलाई धान बिक्री गरेका छन् । ‘लागत अनुसारको मूल्य पाउँदा खुसी भएका छौँ,’ धनगढी( ९ का किसान जगदीश रानाले भने, ‘लामो समय लाइनमा बसेर तोकिएको खरिद केन्द्रमा धान बेच्न कठिन भएको छ ।’

1

यस वर्ष व्यापारी र सरकारले तोकेको मूल्यमा अन्तर धेरै भएपछि खाद्यमा कृषकको भिड लागेको हो । सरकारले मध्यम धानको मूल्य प्रतिक्विन्टल २८ सय ८५ रुपैयाँ र मोटा धानको मूल्य २७ सय ३५ रुपैयाँ तोकेको छ । स्थानीय व्यापारीले भने बढीमा २२ सय रूपैयाँसम्ममा खरिद गरेका छन् । खाद्यको प्रादेशिक कार्यालय धनगढीले चालु वर्षमा कैलाली र कञ्चनपुरबाट ७० हजार क्विन्टलभन्दा बढी धान खरिद गर्ने लक्ष्य लिएको छ । कैलालीमा ६५ हजार र कञ्चनपुरमा ७ हजारको हाराहारीमा धान खरिद गर्ने कम्पनीले लक्ष्य छ ।

धान बिक्री गर्ने किसान धेरै हुँदा व्यवस्थापनमा केही समस्या भएको धनगढी कार्यालयका प्रमुख अनिलकुमार श्रेष्ठले बताए । सरकारी र व्यापारीले दिएको मूल्यमा धेरै अन्तर भएकाले कैलालीको मात्र नभएर कञ्चनपुरबाट समेत किसानले धान ल्याएको उनले बताए । तथ्यांकअनुसार २२ हजार एक सय ४७ क्विन्टल धान खरिद गरिएको उनले जानकारी दिए ।