कोरोनाभन्दा भोक ठूलोः यता काम नपाएपछि फेरि उतै
2020/11/29, 11:16
 
corona

सुदूरपश्चिमका सीमा नाकामा दिनहुँजसो भारत पस्नेको ताँती देखिन्छ। नेपाल र भारतमा कोरोना संक्रमण दर बढ्दै गए पनि त्यसको पर्वाह नगरी कामका लागि सुदूरपश्चिमका गौरीफन्टा, त्रिनगर र गड्डाचौकी नाकाबाट भारत जानेको संख्या बढ्दो छ। स्वदेशमा कुनै काम र आम्दानीको स्रोत नहुँदा यसरी भारत पस्नुपर्ने बाध्यता आइलागेको हो। भारत जाने सबैको एउटै जबाफ छ, ‘यहाँ स्वदेशमा रोजगारी छैन, बालबच्चा भोकभोकै मर्न दिनु भएन, त्यही भएर बाध्यताले मजदुरी गर्न जाँदै छौं।’

विश्वव्यापी रूपमा कोरोना महामारी फैलिएपछि भारतका विभिन्न सहरमा मजदुरी गर्ने हजारौं नेपाली गत चैत र वैशाखमा ‘मरे पनि आफ्नै भूमिमा मरौंला’ भन्दै घर फर्केका थिए। त्यतिबेला घर फर्कने सबैको मुहारमा उत्साह देखिन्थ्यो। भारतमा संक्रमण तीव्र बनेपछि स्वदेशमै काम गरेर परिवारको गुजारा चलाउने सोचका साथ उनीहरू घर फर्केका थिए। यहाँ सोचेजस्तो भएन। दिन बिते, महिना बिते तर आम्दानीको मेलो मिलेन। परिवारका सदस्य भोकभोकै बस्नुपर्ने अवस्था आयो। अन्ततः उनीहरू कोरोना साम्य नहुँदै फेरि उतै फर्कन बाध्य भएका हुन्।

यता बालबच्चा भोकभोकै मर्नुभन्दा त उतै जस्तो भए पनि भोगौंला भनेर भारत जान लागेको डोटीका हर्क भुलले बताए। ‘यी बालबच्चा पाल्ने उपाय स्वदेशमा भए किन भारत जान्थें, बालबच्चासहित म पन्जाब जाँदैछु,’ तीन बालबच्चासहित भारत जान लागेका भुलले भने, ‘जस्तो दुःख र समस्या भए पनि भोग्नु छ।’ उनी चार महिनाअघि नेपालमा आएका थिए।  बालबच्चासहित पतिपत्नी मजदुरीका लागि भारत जाने गरेका छन्। ‘खाना त चाहिन्छ, के खाएर बाँच्ने रु’ उनले भने।

प्रत्येक दिन सुदूरपश्चिमका त्रिनगर र गड्डाचौकी नाकाबाट दैनिक एक हजार पाँच सयको हाराहारीमा नेपाली भारत पस्ने गरेका छन्। अघिल्लो साताको शुक्रबार गड्डाचौकी र गौरीफन्टा नाकाबाट १९ सय ८३ जना र शनिबार १६ सय ७५ जना भारततर्फ गएको कञ्चनपुर प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिए। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक मुकेश सिंहले भदौयता सुदूरपश्चिमबाट ६० हजारजना मजदुरीका लागि भारत पसिसकेको बताए।

भारतमा कोरोना संक्रमण फैलिएपछि त्यहाँ काम गर्ने ३ लाखभन्दा बढी सुदूरपश्चिमेली नेपाली घर फर्केका थिए। उनीहरूका लागि रोजगारीका अवसर खोल्न सरकार चुकेको पर्यटन व्यवसायी कृष्णबहादुर महरा बताउँछन्। आयस्रोत नभएको र आफ्नो जमिनको उब्जनीले चार महिना पनि खान नपुग्ने सुदूरपश्चिमका करिब ७ लाख मानिस भारतमा मजदुरी गर्न जाने गरेका छन्।