राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवालले खेलकुद क्षेत्रको बजेट निरुत्साहित रहेको प्रतिक्रिया दिएका छन् । नयाँ आर्थिक बर्षका लागि सरकराले संसदमा पेश गरेको बजेट आश गरिए अनुसार नरहेको भन्दै बजेटको घोषणा निराशाजनक रहेको बताए ।
उनले बजेटको शैद्धान्तिक बिषयसंग आफु सहमत भएपनि विनियोजन गरिएको बजेट निराशाजनक रहेको बताएका छन् । ‘बजेटको शैद्धान्तिक बिषयसंग सहमती छ । अन्तराष्ट्रिय स्तरका खेल पुर्वाधार, स्थानीय, प्रादेशिक रंगशाला, क्रिकेट रंगशाला, कभर्डहल जस्ता खेलकुद पुर्वाधार निर्माणको पक्ष समेटिएको छ ।’ उनले भने, ‘तर समग्रमा बजेट निरुत्साहित बनाउने खालको छ ।’
सरकारले नयाँ आर्थिक बर्षका लागि युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ३६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सो रकम अघिल्लो आर्थिक बर्षको बजेट भन्दा झण्डै ४० प्रतिशत कम हो । सदस्य सचिव सिलवालले रातो किताबको अध्ययन गरेपछि मात्र बजेटको बिषयमा पुरा विश्लेषण गर्न सकिने बताए । सरकारले अघिल्लो आर्थिक बर्षमै युवा तथा खेलकुद मन्त्रालयलाई ३ अर्ब ९९ करोड रुपैयाँ बढी बजेट विनियोजन गरिएको थियो । त्यसअघिको आर्थिक बर्ष २०७५-७६ मा सरकारले ४ अर्ब १८ करोड रुपैयाँ बजेट मन्त्रालयलाई विनियोजन गरेको थियो ।
बिहिबारकाे सदनमा अर्थमन्त्री खतिवडाले खेलकुद पूर्वाधारलाई केन्द्रमा राख्दै बजेट विनियोजन गरिएको जानकारी दिएका थिए । उनले सबै स्थानीय तहमा खेल ग्रामको कार्यक्रमलाई निरन्तरता दिदै नवौं राष्ट्रिय खेलुकदका लागि गण्डकी प्रदेश, कर्णाली प्रदेश, उच्च पर्वतीय खेलकुद केन्द्र निर्माणका लागि बजेट विनियोजन गरिएको बताएका थिए ।
सरकारले अन्तराष्ट्रिय क्रिकेट मैदान, कभर्डहल र प्रादेशिक रंगशाला निर्माणमा समेत बजेट विनियोजन गरिएको बताएको छ । सरकारले कोरोनाका कारण यस वर्ष युवा तथा खेलकुद मन्त्रालयलाई १ अर्ब ६३ करोडको सिलिङ तोकेको थियो । कोरोनाको प्रभाव बढ्दै गएपछि सरकारले तोकिएको सिलिङमा समेत १५ प्रतिशत बजेट कम गर्न मन्त्रालयलाई पत्राचार गरेको थियो ।
कम्तिमा अघिल्लो आर्थिक बर्षकै बजेट खेलकुदमा राख्नुपर्ने माग गर्दै मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले लबिङ गरेका थिए ।