कैलाश मानसरोवर पुग्‍न विकल्प उरै
2020/12/01, 1:22
 
urai

भारतबाट कैलाश मानसरोवर जाने तीर्थयात्रीले हुम्ला, रसुवागढी, केरुङ, तातोपानीलगायतका नाका प्रयोग गर्छन् । यी नाकाबाट यात्रा गर्दा समय र खर्च बढी लाग्छ । यसको विकल्पमा बझाङको उरै नाका निकै सजिलो हुने पर्यटन क्षेत्रका अभियन्ता र व्यवसायीहरूले बताएका छन् । भारतको उत्तरप्रदेश, उत्तराखण्डलगायत सुदूरपश्चिम प्रदेशसँग जोडिएका ठाउँबाट मानसरोवर पुग्ने यात्रुलाई यो रुट अन्य नाकाको तुलनामा कम खर्चिलोसमेत हुने उनीहरूको भनाइ छ ।

चीन र भारतलाई जोड्ने उरै नाका खोल्न सके भारतीय पर्यटकहरूले सस्तो र सुविधाजनक यात्रा गर्न पाउने पर्यटनसम्बद्ध व्यक्तिहरू बताउँछन् । प्रत्येक वर्ष हुम्लाको हिल्सा नाका भएर मात्रै १० हजारको हाराहारीमा भारतीय पर्यटक मानसरोवर जाने गरेको तथ्यांक छ । ‘अहिले कैलाली र कञ्चनपुरसँग सीमा जोडिएका क्षेत्रका भारतीय पनि दिल्लीबाट काठमाडौंसम्म हवाई यात्रा गरेर नेपालका विभिन्न नाकाबाट मानसरोवर जाने गरेका छन्,’ नेपाल पर्यटन बोर्डका सदस्यसमेत रहेका सुदूरपश्चिमका अग्रणी पर्यटन व्यवसायी कृष्णबहादुर महराले भने, ‘यसरी यात्रा गर्दा उनीहरूको समय मात्रै लम्बिएको छैन, खर्च पनि चर्को पर्ने गरेको छ ।

उरै नाका भएर हामीले भारतीयलाई पठाउन सक्यौं भने समय र खर्चका हिसाबले सस्तो र छिटो हुन्छ ।’ उनले सस्तो खर्चमा यात्रा गर्न चाहने भारतीयलाई सुदूरपश्चिमको सीमावर्ती जिल्लाबाट गाडीमै बझाङ पुर्‍याउन सकिने र बझाङ सदरमुकामबाट हेलिकप्टरमा उरै नाकासम्म पुर्‍याउँदा अहिलेको भन्दा आधा खर्च कम लाग्ने बताए । चीनतर्फबाट उरै भन्ज्याङसम्म दुई वर्षअघिदेखि सडक यातायात सञ्चालनमा छ ।

भारतको उत्तराखण्ड, उत्तर प्रदेशलगायतका विभिन्न प्रदेशले भारतीयलाई मानसरोवर यात्राका लागि यात्रा अनुदानसमेत दिने गरेको छ । उरै नाका सञ्चालन हुने हो भने खर्च र यात्रा अवधि निकै घट्ने नेपाल पर्यटन बोर्डले हालै गठन गरेको पर्यटक पुनरुत्थान समितिका संयोजक नाटा (नेपाल ट्राभल एन्ड टुर्स एसोसिएसन अफ नेपाल) सुदूपश्चिमका अध्यक्ष मायाप्रकाश भट्टको भनाइ छ ।

‘त्यहाँको सरकारले अहिले कैलाश यात्राका लागि प्रतिव्यक्ति एक लाख भारुसम्म अनुदान दिने गरेको छ । तर यात्रा लामो हुँदा उनीहरूको खर्च दुई लाख नाघ्छ, जसले गर्दा मानसरोवर जान चाहेर पनि सबै भारतीयले यात्रा गर्न पाएका छैनन्,’ उनले भने, ‘उरैबाट पठाउने हो भने एक लाखभन्दा कम खर्चमा पनि यात्रा गराउन सकिन्छ । जसका कारण पर्यटकको संख्या हामीले कल्पना गरेभन्दा बढी हुन सक्छ ।’

उरै भएर मानसरोवर जान चाहनेलाई खप्तडको समेत भ्रमण गराउन सकिने र यसले सुदूरपश्चिमको पर्यटन क्षेत्रमै कायापलट हुन सक्ने उनको भनाइ छ । अहिले बझाङमा नियमित हवाई सेवासमेत सञ्चालन भइसकेकाले यात्रा अवधि अझै छोटो हुने उनले बताए ।

बझाङ सदरमुकाम चैनपुरबाट उरैसम्मको हेलिकप्टर यात्राका दौरान साइपाल, अपी, फिरानकोभलगायतका सुन्दर हिमशृंखला नजिकबाट नियाल्न सकिन्छ । ‘हिमालको काखैकाख उड्नुपर्ने भएकाले चैनपुर उरैको उडानको अनुभव अविस्मरणीय हुन्छ,’ सिम्रिक एयरका निर्देशकसमेत रहेका पाइलट सिद्धार्थजंग गुरुङले भने, ‘यो बाटो भएर आउने पर्यटकले हिमाली दृश्यावलोकनको सुन्दर अनुभव बटुल्न पाउनेछन् ।’

केही दिनअघि उरैको सम्भावना अध्ययन गर्न गएका जनप्रतिनिधिहरूले पनि मानसरोवर यात्राका लागि यो नाका उपयुक्त हुने बताएका छन् । उरै नाका हालसम्म औपचारिक रूपमा नखुलेका कारण चीन सरकारसँग समन्वय गरेर खोल्नुपर्ने र उरै क्षेत्रमा आवश्यक पूर्वाधार निर्माणका लागि पहल गर्नुपर्ने उनीहरूको भनाइ छ ।

‘कैलाश जाने यात्रीहरूलाई थप सुविधा दिन उरैमा होटलहरू निर्माण गर्न सके अझै राम्रो हुन्छ,’ प्रतिनिधिसभा सदस्य प्रकाश स्नेहीले भने, ‘सरकारले यो नाकालाई प्राथमिकतामा राख्नका लागि हामी पनि पहल गर्छौं ।’ प्रतिनिधिसभाकी सदस्य आशा विकले नाका खोल्ने सहमति भए यात्राको सिजनमा अस्थायी भन्सार स्थापना गरेर भारतीय पर्यटकलाई कैलाश पठाउन सकिने बताइन् । ‘तीनै तहका सरकार र पर्यटन व्यवसायीको सक्रिय पहल भएमा छिट्टै यो नाका औपचारिक रूपमा सञ्चालनमा ल्याउन सकिन्छ,’ उनले भनिन् ।

मानसरोवर यात्रा र नेपाल, भारत र चीनको त्रिदेशीय व्यापार प्रवर्द्धन गर्ने लक्ष्य राखिएको यही नाका भएर जाने चैनपुर–ताक्लाकोट सडक पनि अहिले निर्माणाधीन अवस्थामा छ । कान्तिपुरबाट