डडेल्धुराको अमरगढी नगरपालिकामा रहेको कस्याँ टाकुरोमा घुम्न आउनेको सङ्ख्यामा वृद्धि भएको छ । टाकुरोबाट सूर्योदय र सूर्यास्तको दृश्यावलोकन गर्नका लागि थुप्रै व्यक्ति कस्याँ टाकुरोसम्म पुग्न थालेका हुन । रमणीय सो ठाउँमा प्राकृतिक सुन्दरता हेर्नेको भीड हुने गरेको छ । डडेल्धुरा सदरमुकामदेखि ११ किलोमिटर दूरीमा रहेको कस्याँ टाकुरोेबाट सुर्याेदय र सुर्यास्तको दृष्य रमरणीय देखिने भएकाले अवलोकनकर्ताहरुको संख्या बढ्दै गएको छ ।
डडेल्धुरा–बैतडी जोड्ने महाकाली राजमार्गको सुर्कालदेखि १५ मिनेट पैदल उकालो चढ्दा कस्याँ टाकुरोेमा पुगिन्छ । जहाँ सुर्याेदय र सुर्यास्तको दृष्यावलोकन गर्नेहरुको भीड हुने गरेको छ । अमरगढी नगरपालिका–७ पोखरा बजारमाथि मनमोहक कस्याँ टाकुरोे अवस्थित छ । यसको उचाई समुद्र सतहदेखि १९ सय २५ मिटर छ । कस्याँ टाकुरोेबाट सुर्योदयका साथै प्राकृतिक रुपमै डडेल्धुराको आधा बढी भू–भागसंगै डोटी, अछाम, बैतडी र भारतको उत्तराखण्डको दृष्यावलोकन गर्न सकिन्छ ।
विहान सुर्याेदय र बेलुकी सुर्यास्तको दृष्य मनमोहक हुने भएकाले पछिल्ला दिनहरुमा अवलोकनकर्ताको संख्या वृद्धि हुदैं गएको डिभिजन वन कार्यालय डडेल्धुराका प्रमुख विष्णुप्रसाद आचार्यले बताए । उनी आफू पनि नियमित रुपमा सुर्योदयको अवलोकन गर्न कस्याँ टाकुरोे पुग्ने गरेको बताउँछन् । उनी कस्याँ टाकुरोलाई इलामको अन्तु डाँडा र भक्तपुरको नगरकोटसँग तुलना गर्दछन ।
‘सूर्योदय र सूर्यास्त हेर्नको लागि पैसा खर्च गरेर इलाम र भक्तपुर पुग्नुभन्दा कस्याँ टाकुरोे पुग्न सुदूरपश्चिमवासीलाई सुझाव दिन चाहन्छु’, उनले भने । कस्याँ टाकुरोे पर्यटकीय सम्भावना बोकेको ठाउँ भएकाले अमरगढी नगरपालिकाले चालू आर्थिक वर्षमा ७२ लाख रुपैयाँ बजेट लगानी गरेर भौतिक पूर्वाधार निर्माण कार्य शुरु गरेको नगरप्रमुख विश्वेश्वरप्रसाद ओझाले पश्चिम टुडेलाई बताए । उनले कस्याँ टाकुरोेलाई जिल्लाकै महत्वपूर्ण पर्यटकीय स्थलका रुपमा विकास गर्न अमरगढी नगरपालिकाले दीर्घकालीन योजना बनाएर बर्सेनि लगानी गर्ने बताए ।
दशरथ चन्द राजमार्गको पश्चिममा सडकसँगै जोडिएर रहेको कस्याँ टाकुरोे धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल हो । डडेल्धुरा जिल्लाका सबैभन्दा अग्लो डाँडामध्येको यसलाई प्राचीन, धार्मिक तथा ऐतिहासिक डाँडाको रूपमा मानिन्छ । कस्याँ टाकुरोे डाँडामा परापूर्वकालमा राजा हरि शाहीको दरबार रहेको स्थानीय शोवम् भण्डारी बताउँछन । ‘कासाको थाल जस्तो भएकोले यसको नाम कस्याँ टाकुरोे राखिएको हो । पहिले यहाँ राजाको भव्य दरबार, हातहतियार राख्ने ठाउँ, पानी खाने नौलो र बस्ने घर समेत थियो,’ उनले भने–‘तलबाट अपरिचित व्यक्ति कस्याँ टाकुरोे चढन गएमा माथिबाट ढुंगामुढा हानेर धपाउने कार्य हुन्थ्यो ।’
राजाका भारदारसंँग झगडा गर्दा शाहीका भारदारहरूले हत्या गरेको ठाउँ भएकाले यसलाई पछि कस्या टाँकुरो नामकरण गरिएको स्थानीय इतिहासविद् भोजराज भट्टराइ बताउँछन् । उनले कस्याँ टाकुरोेमा २०÷२५ वर्षअघिसम्म ढुङ्गाको मन्दिर रहेको खाना पकाउने केही भाँडाकुँडासमेत रहेको बताए । उनका अनुसार १३ औं शताब्दीका चर्चित डोटेली राजा नागी मल्लसहित लेगी समैजी, शिखर, शैलेश्वर महादेव, शिद्धागात, भूमिराज, उग्रतारा भगवती माताको धार्मिक क्षेत्रका रूपमा पनि कस्याँ टाकुरोलाई लिइने गरिन्छ ।