‘सदन चलाई जनताका समस्यामा छलफल गरौं’
2020/12/06, 12:23
 
sava

सुदूरपश्चिम प्रदेश सभाका सदस्यले प्रदेश सभाको बैठक सञ्चालन गर्न प्रदेश सरकारलाई आग्रह गरेका छन् । कोरोना महामारीको प्रभावले उत्पन्न जनताका विविध समस्यामाथि छलफल जरुरी रहेकाले प्रदेश सभा बैठक सञ्चालन गर्न आवश्यक भएको उनीहरुको भनाइ छ । ‘प्रदेश सभालाई धेरै ग्याप राख्नु हुन्न’, नेकपाका प्रमुख सचेतक तारा लामा तामाङ्ले भने । ‘बिजनेस दिएर यसलाई सञ्चालन गर्नु पर्दछ ।’ 

 प्रदेशको आफ्नै थुप्रै कानून बनाउँन बाँकी र जनताका समस्यामा छलफल गर्न जरुरी भएकाले सदन चलाउन आवश्यक भइसकेको उनले बताए । ‘यद्यपि, सदन कहिले सञ्चालन गर्ने भन्ने कुरा सरकारले भन्ने हो’, तामाङ्ले भने । ‘तर, यो बेला धेरै ग्याप राख्नु हुन्न ।’ साउन ३१ गते प्रदेश सभाको छैटौं अधिवेशन सकिएको थियो । त्यसपछि, प्रदेश सभा बैठक सञ्चालन हुन सकेको छैन । प्रदेश सभाको अधिवेशन सकिएको चार महिना पुग्दैछ । आगामी अधिवेशन सञ्चालनको तत्काल तयारी गरिएको छैन । एउटा अधिवेशन सकिएपछि छ महिनाभित्रै अर्को अधिवेशन आह्वान गर्ने कानूनी व्यवस्था रहेको छ । 

 प्रदेश सभाको अधिवेशन सकिएको चार महिना पुग्न लागेकाले अब बैठक सञ्चालन गर्न जरुरी भइसकेको नेपाली काङ्ग्रेसबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य श्यामलाल रानाथारुले बताए । ‘सदन सञ्चालन नभएको धेरै दिन भइसक्यो’, उनले भने । ‘जनताका थुप्रै सवाल छन् । बैठक सञ्चालनमा ढिलाइ गर्नु हुन्न ।’  जनताका जल्दाबल्दा समस्या समाधानका बारेमा छलफल गर्ने थलो प्रदेश सभा हो । निर्वाचन क्षेत्रबाट आएका जनताका आवाजलाई जनप्रतिनिधिहरुले बैठकमा राख्दै आएका छन् । प्रदेशका जनताहरु थुप्रै समस्याबाट गुज्रिरहेकाले अब उनीहरुले समस्याबारे छलफलका लागि प्रदेश सभा सञ्चालन गर्न आवश्यक भइसकेको रानाथारुले बताए । 

‘किसानलाई यति धेरै समस्या छ । उनीहरुले मल बिनै गहुँ छरिसके’, उनले भने । ‘जनताका थुप्रै समस्या छन् । ती समस्याको समाधानका बारेमा सदनमा छलफल हुनु पर्दछ ।’ बहुमतको सरकारले जनताको समस्या समाधान गर्न नसकिरहेको रानाथारुले जिकिर गरे । प्रदेशमा शान्ति, सुरक्षाको अवस्था बिग्रिएको, बेरोजगारी बढेको लगायतका समस्याहरु बल्झिएका प्रतिपक्षको ठहर छ । ‘कोरोनाको त्रासले विदेशबाट फिरेकाहरु रोजगारी नपाएर पुनः बाध्य भएर भारततिरै जान बाध्य भएका छन्’, रानाथारुले भने । ‘यो बिचमा जनताका धेरै समस्या सुन्ने, बुझने काम भइसकेको छ । अब प्रदेश सभा सञ्चालन गरेर समाधानका लागि छलफलमा जुटौं ।’

सदस्यहरु निर्वाचन क्षेत्रमा
सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरु आ–आफ्ना निर्वाचन क्षेत्रमा व्यस्त रहेका छन् ।     छैटौं अधिवेशन अन्त्यपछि बैठक सञ्चालन नहुँदा उनीहरु निर्वाचन क्षेत्रमै व्यस्त रहेका हुन । गएको साउन ३१ गते छैटौं अधिवेशन अन्त्य भएको थियो । प्रदेश सभा बैठक सञ्चालन नभएपछि निर्वाचन क्षेत्रमा पुगेर प्रदेश सभा सदस्यहरु योजना अनुगमन, योजनाको बारेमा जनतासंग छलफल, कार्यकर्ता भेटघाट, औपचारिक कार्यक्रममा सहभागी हुने लगायतका कार्यमा व्यस्त रहेका छन् । विधायन समितिका सभापति नेपालु चौधरीले प्रदेश सभाको बैठक सञ्चालन नभएको बेला जनतासंग प्रत्यक्ष भेटघाट, औपचारिक कार्यक्रम लगायतमा व्यस्त रहेको बताए । 

त्यसैगरी, समितिको बैठकमा आफूहरु व्यस्त रहँदै आएको उल्लेख गर्दै उनले थपे–‘समितिको आगामी बैठक मंसिर २२ गते बोलाएका छौं ।’ उनले निर्वाचन क्षेत्रमा जाँदा जनताबाट बाटोघाटो र पुलपुलेसो माग भएको जनाए । तत्काल प्रदेश सभा बैठक सञ्चालन हुन नसके पनि आफूहरु फुर्सदिला भने नरहेको चुनकुमारी चौधरीले बताइन । जनतासंग प्रत्यक्ष रुपमा भेटघाट गरिरहेको जनाउँदै उनले विहानदेखि बेलुकासम्म विभिन्न काममा व्यस्त रहने गरेको बताइन ।

‘सभाको बैठक नभए पनि अन्तर प्रदेश, प्रदेश स्तरीय विभिन्न समितिको भर्चुअल बैठकमा सहभागि भइरहहेका छौं’, उनले भनिन् । ‘विहानदेखि बेलुकासम्म फुर्सद छैन ।’ अधिवेशन अन्त्यपछि केही महिनासम्म प्रदेश सभा बैठक स्थगित हुने गरेको छ । त्यो समयलाई प्रदेश सभा सदस्यहरुले आ–आफ्ना निर्वाचन क्षेत्रमा सदुपयोग गर्दै आएका छन् । छैटौं अधिवेशन अन्त्य भएको साढे तीन महिनाभन्दा बढी भइसकेको छ । यो बीचमा जनतालाई भेटेर प्रत्यक्ष रुपमा उनीहरुको कुरा सुन्नेदेखि लिएर छिटोछरितो रुपमा योजना कार्यान्वयन लागि अनुगमनसमेत गरिरहेको सदस्य चौधरीले बताइन् । 

यसैगरी, अर्का सदस्य दुर्गा कामीले प्रदेश सभा बैठक स्थगित भएको मौका छोपेर समितिको विविध कार्यमा सहभागी रहेको बताइन् । निर्वाचन क्षेत्रमासमेत तीन पटक पुगेको उल्लेख गर्दै उनले समितिमार्फत अन्तर प्रदेशको विभिन्न योजनाको अनुगमन गरेर सोही अनुसार कार्यन्वयनका लागि सुदूरपश्चिम प्रदेश सरकारलाई सुझावसमेत दिएको बताइन् । राष्ट्रिय जनता पार्टीबाट प्रतिनिधित्व गर्नु हुने सदस्य कृष्ण चौधरीले आफू निर्वाचन क्षेत्रमै जनताका गुनासा बुझ्ने, योजना कार्यान्वयनका लागि अनुगमन गर्ने लगायतका कार्यमा व्यस्त रहेको बताए ।