कैलालीको जानकी गाउँपालिकाको एकै क्वारेन्टाईनका ६ जना कोरोना संक्रमितको सम्पर्कमा आएका ७० जनाको स्वाब संकलन
2020/05/29, 2:18
 
korona

कैलालीको जानकी गाउँपालिकाको एकै क्वारेन्टाईनका ६ जना कोरोना संक्रमितको सम्पर्कमा आएका ७० जनाको स्वाब संकलन गरिएको छ । जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टिनमा राखिएका ६ जनामा कोरोना पुष्टि भएपछि उनीहरुको सम्पर्कमा अएका ७० जनाको नमुना संकलन गरिएको हो ।

बिहीवार ७० जनाको थ्रोट स्वाबको नमुना संकलन गरी परीक्षणका लागि धनगढी ल्याईएको कैलालीका कोभिड–१९ सम्पर्क व्यक्ति जयसिंह भण्डारीले जानकारी दिए । ट्रेसिङको काम सकिएपछि थ्रोट स्वाबको नमुना संकलन गरिएको हो । संक्रमितसंगै क्वारेन्टिनमा राखिएका २९ जनाको पनि स्वाब संकलन गरिएको छ । संक्रमितको सम्पर्कमा आएका बाँकी ४१ जनाको समेत स्वाब संकलन गरिएको जानकी गाउँपालिकाका अध्यक्ष प्रदिप कुमार चौधरीले बताए । 

जानकी गाउँपालिका वडा नम्वर ३ का एक जना, ४ का तीन जना र ७ का दुई जनामा कोरोना पुष्टि भईकसकेको छ । उनीहरु मध्ये एक जना इटहरी, एक जना बाँके र बाँकी ४ जना भारतबाट आएका हुन । उनीहरु सबैको अहिले टीकापुर अस्पतालमा उपचार भईरहेको छ ।