कोरोना कहरले रोकेन चिसापानीमा आन्तरिक पर्यटक
चहलपहल बढ्यो
2020/12/13, 2:01
 
chisapani

कोरोना कहरकाबीच कैलालीको चिसापानीमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । सुदूरपश्चिम प्रदेशको एक प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको लम्की चुहा नगरपालिका–३ स्थित चिसापानीमा घुम्नका लागि आन्तरिक पर्यटक पुग्न थालेका हुन ।

कोरोना महामारीका कारण केही महिनासम्म सुनसान चिसापानी सुनसान रहेको थियो । दशैं, तिहारपछि आन्तरिक पर्यटक पुग्न थालेका छन् । लुम्बिनी प्रदेशसंग जोडिएको चिसापानी सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार मानिन्छ । विशेष गरेर कर्णाली नदीमा बनेको कर्णाली पुल अवलोकनका लागि यहाँ पर्यटक पुग्ने गरेका छन् । 

यो ठाउँमा सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर, डोटी र लुम्बिनी प्रदेशको बर्दिया, बाँके लगायतका जिल्लाबाट घुमघामका लागि पर्यटक पुग्ने गरेका जनाइएको छ । पछिल्लो समय चिसापानीमा आन्तरिक पर्यटक आउनेक्रम बढेको सिद्धार्थ होटलका म्यानेजर जावेद अख्तरले पश्चिम टुडेलाई बताए । ‘अहिले केही हद्सम्म पर्यटकको आगमन बढेको छ’, उनले भने । ‘तर, जाडो भएपछि एक÷दुई दिनयता फेरि मान्छेको फ्लो केही कम देखिन्छ ।’ 

चिसापानीमा मान्छेहरु व्यावसायिक सिलसिलामाभन्दा पनि रमाइलो गर्नका लागि पुग्ने गरेका छन् । धेरैजसो पर्यटक दिनभरि रमाउने र साँझतिर आ–आफ्ना घरतिर फर्कने गरेका छन् । पछिल्लो समय कोरोना महामारी र बन्दाबन्दीका कारण धेरै समयसम्म घरभित्रै गुम्सिएर बसेकाहरु रमाइलो गर्न चिसापानीसम्म आइरहेको अख्तरले बताए ।  

‘मलाई लाग्छ, यो सुदूरपश्चिम प्रदेशकै सबैभन्दा राम्रो र उपयुक्त पर्यटन गन्तव्य हो’, उनले भने । ‘तर, प्रदेश सरकारले यो क्षेत्रको पर्यटनलाई मध्यनजर गरेर व्यवस्थित गर्न सकेको छैन ।’ कर्णाली नदीमा बनेको पुल हेर्नका लागि भारतको लखनऊ, पलिया, नानपारा, रुपैडिया, बहराइच लगायतका ठाउँबाट भारतीय पर्यटक आउने गरेका थिए ।

चिसापानीमा सबैभन्दा बढी लखनऊबाट भारतीय पर्यटक आउने गरेका जनाइएको छ । कोरोना महामारी र नेपाल सरकारले सीमानाका बन्द गरेका कारण अचेल भने भारतीय पर्यटक छैनन् । पछिल्लो समय आन्तरिक पर्यटकमात्रै पुग्ने गरेका जनाइएको छ ।

‘पहिले यहाँ आउने पर्यटकमध्ये ५० प्रतिशत भारतीय पर्यटक नै हुन्थे’, लम्कीचुहा नगरपालिका–३ का वडा अध्यक्ष भक्त चलाउनेले पश्चिम टुडेलाई भने । ‘कोरोनाको महामारी चलेपछि भारतीय पर्यटक छैनन् । तर, अहिले आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।’ 

पर्यटक आउनेक्रम बढे पनि आर्थिक गतिविधि भने त्यति चलायमान हुन नसकेको जनाइएको छ । कर्णाली पुल हेर्नका लागि चिसापानीमा आउने आन्तरिक पर्यटकहरु खाजा, पानी आफ्नै घरबाट लिएर आउने गरेका जनाइएको छ । ‘पछिल्लो समय मान्छे घुमफिरका लागि घरबाट बाहिर निस्के पनि कोभिडका कारण खानेकुरा र पानी आफ्नै घरबाट लिएर आउने गरेका छन्’, अध्यक्ष चलाउनेले भने । ‘त्यसैले चिसापानीमा मान्छेको चहलपहल त देखियो तर, आर्थिक गतिविधिले गति लिएन ।’ 

त्यसो त, चिसापानी आउने आन्तरिक पर्यटकले थोरै मात्रामा खर्च गर्ने गरेका व्यवसायीहरु बताउँछन् । बरु, भारतीय पर्यटकले दोब्बर बढी खर्च गर्ने गरेका जनाइएको छ । कोभिड–१९ को महामारीले अहिले कमै मान्छे होटलहरुमा आउने गरेको र कोठा भाडामा पनि ‘बार्गेनिङ’ गर्ने गरेका अख्तरले बताए । ‘पहिले जुन दररेटमा हाम्रो रुम बुक हुन्थ्यो, अहिले त्यसको आधामा पनि छैन’, उनले भने ।

‘होटलमा आएका ग्राहक कोठा भाडाका लागि पनि बार्गेनिङ गर्ने गर्दछन् ।’ कोरोनाले आर्थिक आम्दानी प्रभावित भएका कारण होटेलमा पुगेका प्रायः पाहुनाहरु सामान्य नास्तामात्रै खाएर जाने गरेको अख्तरले जनाए ।  गत विगतमा, दशैं, तिहार, नयाँ वर्ष लगायतको बेलामा चिसापानीमा आन्तरिक पर्यटकको भीडभाड हुने गरेको थियो । कोरोनाको कारण यो वर्ष भने त्यहाँ त्यस्तो भीडभाड भएको छैन । यद्यपि, पछिल्लो समयमा आन्तरिक पर्यटक कोरोना कहरकैबीच घुम्न चिसापानी पुग्न थालेका छन् । 

यसैबीच, लम्कीचुहा नगरपालिकामै रहेको आमपानी झरनासम्म घुम्न जाने क्रम पनि बढेको छ । लम्की बजारबाट पाँच किलोमिटरको दूरीमा रहेको सो झरनाको दृश्यावलोकन, घुमघामका लागि मान्छेहरु त्यहाँ पुग्ने गरेका छन् । चिसापानीमा आएका पाहुनाहरुमध्ये कतिपय व्यक्ति आमपानी झरनासम्म पनि पुग्ने गरेको वडा अध्यक्ष चलाउनेले बताए ।