बोरा र गोदाम भरिएको भन्दै खाद्यले धान खरिद रोक्यो
सस्तोमा व्यापारीलाई नै धान बेच्न बाध्य
2020/12/13, 2:06
 
khadya

गोदाम भरिएको भन्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कैलालीमा किसानबाट धान खरिद गर्न छाडेको छ । खाद्यले धनगढी मोहनपुरमा रहेको डिपोबाट धान किन्न छाडेको हो ।   गोदाम भरिन थालेकाले जोशीपुर गाउँपालिकामा रहेको डिपोमा पनि धान खरिद रोक्नुपर्ने अवस्था आएको खाद्यले जनाएको छ । बोरा र राख्ने ठाउँको अभाव देखाउँदै खाद्यले खरिद बन्द गर्न थालेपछि धान बिक्री गर्न नपाएको गुनासो किसानले गरेका छन् । 

खाद्यमा उचित मूल्य पाइने आसले कतिपय किसानले व्यापारीलाई बिक्री नगरेर धान राखेका थिए । तर, खाद्यले खरिद रोकेपछि किसानहरू सस्तोमा व्यापारीलाई नै धान बेच्न थालेका छन् ।  अत्तरिया मालाखेतीका किसान राजेश चौधरीले खाद्यले नकिन्दा व्यापारीलाई सस्तोमा बेच्नुपर्ने अवस्था आएको बताए । ‘पहिले डिपोमा भिडभाड थियो । भिडभाड कम भएपछि धान बेचौँला भनेको त खरिद नै बन्द गरेछ ।’ उनले भने, ‘अब व्यापारीले भनेकै मूल्यमा धान बेच्नुपर्ने भयो ।’ 

खाद्यले मध्यम धान प्रतिक्विन्टल दुई हजार ७३५ रुपैयाँमा खरिद गरिरहेको छ । तर, व्यापारीले भने सरकारले तोकेको मूल्य लागू गरेका छैनन्, उनीहरूले प्रतिक्विन्टल दुई हजार एक सयसम्म धान खरिद गरिरहेका छन् ।  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीका प्रमुख अनिलकुमार श्रेष्ठले भण्डारणको समस्याले धान खरिद प्रभावित भएको बताए । यसअघि बोराको अभावले पनि कैलालीमा केही दिन धान खरिद कार्य रोकिएको थियो । ‘अहिले बोरा आइपुगेको छ, तर गोदाम भरिएकाले कहाँ राख्ने भन्ने समस्या छ ।’ श्रेष्ठले भने, ‘किनेको धान गोदामबाहिरै राखेका छौँ ।’  

मोहनपुर र जोशीपुरबाहेक अन्य डिपोको गोदाममा पनि ठाउँको अभावले थप धान खरिद गर्न समस्या हुने उनले बताए । खाद्यले मोहनपुर डिपोबाट मात्रै ११ हजार क्विन्टल धान किनेको छ । मोहनपुरमा खाद्यसँग रहेका १०–१० हजार क्विन्टल क्षमताका दुईवटा गोदाम चामलले भरिएका छन् । गोदाम भरिएकाले खरिद गरेको धान बाहिरै राख्नुपरेको श्रेष्ठले बताए ।  गोदामको अभावले किसानको धान किन्न रोकेको खाद्यले मोहनपुर डिपोमै रहेका १०–१० हजार क्विन्टल भण्डारण क्षमताका दुईवटा गोदाम भने विश्व खाद्यलाई भाडामा दिएको छ । यस्तै, धनगढीमा १५ हजार क्विन्टल क्षमताको गोदाम पनि निजी क्षेत्रलाई अस्पताल बनाउन भाडामा लगाएको छ । केन्द्रबाटै गोदाम भाडामा लगाइएको प्रमुख श्रेष्ठले बताए ।

विश्व खाद्यलाई भाडामा दिइएको गोदाम खाली गराउन केन्द्रलाई आग्रह गरे पनि केन्द्रबाट जवाफ नआएको उनले    बताए । ‘मोहनपुरको हाम्रो गोदाम चामलले भरिएको छ । खरिद गरेको धान बाहिरै राखेकाले वर्षा भए बिग्रने अवस्था    छ ।’ उनले भने, ‘यसबारे जानकारी दिँदै विश्व खाद्यले प्रयोग गरेको गोदाम खाली गराइदिन केन्द्रलाई आग्रह गरेका    थियौँ । तर, सुनुवाइ भएन ।’ 

धनगढीमा धान खरिद सुचारु गर्न भाडामा लिने गरी गोदामको खोजी भइरहेको खाद्यले जनाएको छ । जोशीपुरको गोदाम पनि भरिएकाले खरिदमा समस्या भएको प्रमुख श्रेष्ठले बताए । धान खरिदका लागि जिल्लाभर नै पूर्वाधारको अभाव रहेको बताइएको छ । टीकापुर डिपोमा पनि भण्डारण क्षमता न्यून रहेको श्रेष्ठले बताए । टीकापुर डिपोको गोदाम पाँच हजार क्विन्टल क्षमताको हो । त्यहाँ सात सय क्विन्टल चामल छ । गोदाम भरिएकाले त्यहाँ पनि खरिद गरेको धान गोदामबाहिरै राखिएको उनले बताए । 

ढिलो गरी धान खरिद सुरु गरेको खाद्यले यस वर्ष जिल्लामा किसानबाट ६५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको छ । मोहनपुर, टीकापुर, जोशीपुर र भजनी डिपोबाट अहिलेसम्म ३२ हजार क्विन्टल धान खरिद भएको खाद्य व्यवस्था कम्पनी लिमिटेड धनगढीले जनाएको छ ।