कञ्चनपुरको शुक्लाफाँटाको थारु संग्रहालय हात्तीले भत्कायो
2020/12/15, 10:08
 
tharu

जंगली हात्तीको बथानले शुक्लाफाँटा नगरपालिका–८ स्थित पर्यटकीय क्षेत्र भम्केपानीमा रहेको थारु संग्रहालय भवन भत्काएको छ। थारु समुदायको परम्परागत घरकै शैलीमा निर्माण गरिएको संग्रहालय भवन सोमबार राति हात्तीले भत्काएको हो। हात्तीले भवन भत्काउँदा संग्रहालयमा राखिएका वस्तुमा क्षति पुगेको छ।

भवनभित्र अवलोकनका लागि राखिएका थारु पहिरन, गहनालगायतका सामग्रीमा क्षति पुगेको वडा नम्बर ८ का वडाध्यक्ष बहादुरसिंह महराले बताए। ‘गत वर्षदेखि सञ्चालनमा आएको संग्रहालय भवनमा हात्तीको बथानले क्षति पु¥यााएको दोस्रो पटक हो,’ वडाध्यक्ष महराले भने, ‘गत वर्ष भवनको पर्खाल मात्रै भत्काएको थियो। मर्मत गरेर सञ्चालन गरेका थियौं। यस बर्ष भवनको पर्खालसँगै भित्र राखिएका वस्तुमा समेत क्षति गरेको छ।’ 

कोरोनाको महामारीका कारण संग्रहालय एक वर्षदेखि बन्द छ। आन्तरिक पर्यटकका लागि खोल्ने तयारीमा रहेकै बेला हात्तीले क्षति गरेको संग्रहालय सञ्चालन समितिका संयोजक भागिराम चौधरीले बताए। ‘ठाउँ ठाउँबाट जोर जम्मा गरी परम्परागत सामग्री जुटाएका थियौं,’ उनले भने, ‘थारु समुदायका संस्कृति र रहनसहनसँग सम्बन्धित वस्तु सबै एक ठाउँमै हेर्न सकिने गरी राखेका थियौं। हात्तीले सबै सखाप बनायो।’ वडा कार्यालयको पाँच लाख र स्थानीय बासिन्दाको श्रमदानमा संग्रहालय भवन निर्माण गरिएको थियो।