टीकापुर घटनामा प्रतिनिधि सभा सदस्य रेशम चौधरी सहित सात जनालाई उच्च अदालतद्धारा जन्मकैदको फैसला
सात जनाको सदर चार जनालाई सफाई 
2020/12/17, 10:35
 
resam chaudhary

सात जना प्रहरी र एक नाबालकको ज्यान जाने गरी भएको टीकापुर घटनाका आरोपित रेशम चौधरीलाई जन्मकैदको सजाय उच्च अदालत दिपायलले सदर गरेको छ । प्रतिनिधि सभाको निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित रेशम चौधरी सहित ११ जनालाई टीकापुर घटनामा दोषी ठहर गर्दै कैलाली जिल्ला अदालतले २०७५ साल चैतमा गरेको फैसलालाई उच्च अदालत दिपायलले सदर गरेको हो ।

दुई वर्षअघि कैलाली जिल्ला अदालतले ११ जनालाई जन्मकैदको सजाय सुनाएको थियो । जसमध्ये उच्च अदालतले आज सात जनाको फैसला सदर गरेको छ । चार जनालाई भने सफाई दिएको छ । उच्च अदालतका न्यायधिश टेकनारायण कुवँर र सीताराम मण्डलको ईजलासले टीकापुर घटनाको मुद्दामा फैसला सुनाउदै हाल कारागारमा रहेका प्रतिनिधि सभा सदस्य चौधरी सहित सात जनालाई जन्म कैदको फैसला सदर गरेको हो ।

थरुहटको माग गर्दै निस्किएको जुलुसले २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा नेपाल प्रहरीका बरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपाने सहित आठ जना प्रहरीको हत्या गरेको थियो । सोही क्रममा एक नाबालकको समेत गोली लागेर ज्यान गएको थियो । सो घटनामा ५८ जनामाथि मुद्दा चलाईएको थियो । जसमध्ये २७ जना पक्राउ परेका थिए । अन्य फरार छन् ।

कैलाली जिल्ला अदालतले पक्राउ परेका मध्ये तीन जनालाई सफाई दिएको थियो । १२ जनालाई तीन वर्षको कैद सजाय सुनाएको थियो ।  टिकापुरका राम नरेश चौधरी, प्रतापपुरका तहोवीर अली जागा र बिश्राम चौधरीले सफाई पाएका थिए ।  तीन वर्ष कैद सजाय भोगेर थारु नेता लक्ष्मण चौधरी, जोशीपुर झवहीका काँग्रेसका नेता रामप्रसाद चौधरी र थारु कल्याणकारी सभाका सभापति लाहुराम चौधरी कारगारबाट मुक्त भएका थिए ।

टीकापुर घट्नामा आरोपित मुनुवाका करन चौधरीलाई भने नाबालक रहेकोले अदालतले सुधार गृहमा राख्न निर्देशन दिएको थियो ।