टीकापुर घट्नामा कैलाली जिल्ला अदालतले गरेको फैसलालाई उच्च अदालत दीपायलले उल्टाईदिएको छ । उच्च अदालत दीपायलले टीकापुर घट्नामा आठ जनालाई जन्मकैदको फैसला सुनाएको छ ।
कैलाली जिल्ला अदालतबाट सफाई पाएका र कम सजाय तोकिएकाहरु समेत दोषी ठहर गर्दै उच्च अदालत दिपायलले उनीहरुलाई दोषी ठहर गर्दै कैद सजाय थप गरेको छ । यसरी कैद सजाय थप गरिएकाहरुमा कैलाली जिल्ला अदालतको फैसला अनुसार कैद भुक्तान गरेकाहरु पनि छन् ।
दीपायल उच्च अदालतका प्रवक्ता राजेन्द्र लुईटेलले श्लाा दिएको जानकारी कैलाली जिल्ला अदालतले जन्म कैद तोकेको ११ जनामध्ये कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्बाचित सांसद रेशम चौधरी सहित सात जनालाई जन्मकैदको सजाय सुनाएको छ ।
त्यसबाहेक दुई वर्षअघि कैलाली जिल्ला अदालतले तीन वर्षको कैद सुनाएका थारु अगुवा लक्ष्मण थारुलाई पनि उच्च अदालत दीपायलले जन्मकैदको सजाय तोकेको छ । उच्च अदालतका न्यायधिश टेक नारायण कुवँर र सीताराम मण्डलको संयुक्त ईजलासले आज दिनभरीको बहसपछि टीकापुर घट्नाको मुद्दामा फैसला सुनाउदै हाल कारागारमा रहेका प्रतिनिधि सभा सदस्य चौधरी सहित आठ जनालाई जन्म कैदको फैसला सदर गरेको प्रवक्ता लुईटेलले बताए ।
उच्च अदालतले प्रतिनिधि सभा सदस्य रेशम चौधरी, हरीनारायण चौधरी, प्रदीप चौधरी, बिर बहादुर चौधरी, राजेश चौधरी, सिताराम चौधरी, गंंगाराम चौधरी र लक्ष्मण चौधरीलाई जन्मकैदको सजाय सुनाएको प्रवक्ता लुईटेलले पश्चिम टुडेलाई जानकारी दिए । जन्मकैद सुनाईएका लक्ष्मण थारुलाई यसअघि कैलाली जिल्ला अदालतले तीन वर्षको सजाय सुनाएको थियो । सोही फैसला अनुसार तीन वर्ष कैद भुक्तान गरेपछि लक्ष्मण थारु कारागार मुक्त भएका थिए ।
कैलाली जिल्ला अदालतले ११ जनालाई जन्मकैदको सुजाय सुनाएको थियो । उच्च अदालतले ती मध्ये सात जनाको फैसला सदर गरेको हो । उच्च अदालतको फैसला अनुसार उनीहरुले २० वर्ष कारागारमा कैद भुक्तान गर्नुपर्नेछ । त्यसमा उनीहरु पक्राउ परेको समयदेखि उनीहरुको कैद भएको समय जोडिनेछ ।
त्यसैगरी कैलाली जिल्ला अदालतले तीन वर्ष कैद सजायको फैसला गरेपछि कैद मुक्त भएका सन्तोष चौधरी, जीत बहादुर चौधरी र डिल बहादुर चौधरीलाई उच्च अदालतले १० वर्षको कैद सजाय तोकेको छ । यस्तै श्रवण कुमार चौधरीलाई उच्च अदालत दिपायलले १० वर्ष कैद सजाय सुनाएको छ । यसअघि उनको हकमा कैलाली जिल्ला अदालतले पनि १० वर्षको कैद सजाय तोकेको हो ।
यसैगरी सुन्दरलाल कठरिया, बृज मोहन चौधरी, राजेश चौधरी, राजकुमार कठरियालाई उच्च अदालतले पाँच वर्षको कैद सजाय सुनाएको छ । उनीहरुको हकमा कैलाली जिल्ला अदालतले तीन वर्ष सजाय तोकेको थियो । यसअघि कैलाली जिल्ला अदालतले तीन वर्षको सजाय तोकेका राम प्रसाद चौधरी सन्तराम चौधरी, किशन लाल चौधरी, र प्रेम बहादुर चौधरीलाई उच्च अदालतले पाँच वर्ष कैद सजाय सुनाएको प्रवक्ता लुईटेलले जानकारी दिए ।
चुन्नीराम चौधरी, लाहुराम चौधरी र रामकुमार कठरियाको हकमा कैलाली जिल्ला अदालतले गरेको फैसलालाई उच्च अदालतले सदर गरेको छ । उनीहरुलाई कैलाली जिल्ला अदालतले तीन वर्षको सजाय तोकेको थियो । उनीहरु कैद भुक्तान गरेर कारागार मुक्त भईसकेका छन् ।
प्रवक्ता लुईटेलले पश्चिम टुडेलाई दिएको जानकारी अनुसार टीकापुर घट्नाका आरोपित बिश्राम चौधरीले उच्च अदालत दीपायलबाट सफाई पाएका छन् । करन चौधरीको हकमा भने नाबालक भएका कारण कैद मुक्त गर्ने कैलाली जिल्ला अदालतको फैसलालाई उच्च अदालतले सदर गरेको छ ।
थरुहटको माग गर्दै निस्किएको जुलुसले २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा नेपाल प्रहरीका बरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपाने सहित आठ जना प्रहरीको हत्या गरेको थियो । सोही क्रममा एक नाबालकको समेत गोली लागेर ज्यान गएको थियो ।
उक्त घट्नामा ५८ जनामाथि मुद्दा चलाईएको थियो । जसमध्ये २७ जना पक्राउ परेका थिए । अन्य फरार छन् । कैलाली जिल्ला अदालतले पक्राउ परेका मध्ये तीन जनालाई सफाई दिएको थियो । १२ जनालाई तीनको कैद सजाय सुनाएको थियो ।