पीएम कप सुदूरपश्चिम छनोटको उपाधि अछामले जित्यो
2020/12/18, 6:38
 
cricket

कञ्चनपुरमा जारी प्रधानमन्त्री कप (पीएम) एकदिवसीय क्रिकेटको सुदूरपश्चिम छनोटको उपाधि अछामले हात पारेको छ । फाइनल खेलमा बैतडीलाई १५ रनले पाखा लगाउदै अछामले उपाधि हात पारेको हो ।  अछामले दिएको १ सय ६५ रनको लक्ष्य पछाएको बैतडी १ सय ४९ रनमा समेटिएको थियो । कभर्डहल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको अछामले ३८ ओभरमा १६४ रनमा अलआउट भयो ।

अछामका लागि अलराउण्डर प्रदर्शन गरेका सुरज तिरुवा म्यानअफ द फाइनल भएका स्कोरर निरञ्जन बोहराले जानकारी दिए । गत मंसिर २७ देखि शुरु भएको छनौट प्रतियोगितामा बाजुरा बाहेकका सुदूरपश्चिमका ८ टोलीको सहभागिता रहेको थियो ।  यो छनोट प्रतियोगिताबाट यही पुस ११ बाट हुने प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटका लागि सुदूरपश्चिमको टोली छनोट हुनेछ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी डडेल्धुराका सन्तोस भट्ट चुनिए ।

बैतडीका खडक बोहरा उत्कृष्ट बलर भए भने कञ्चनपुरका किरन ठगुन्ना उत्कृष्ट ब्याट्सम्यान बनेका छन । फाइनल खेलपछि समापन समारोहको आयोजना गरी खेलाडीलाई पुरस्कार वितरण गरिएको थियो । समापन समारोहमा नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द प्रमुख अतिथी रहेका थिए।