प्रादेशिक महिला क्रिकेटः कञ्चनपुर र बैतडी विजयी 
2020/12/20, 10:39
 
crikcet

धनगढीको फाप्ला क्रिकेट मैदानमा जारी प्रदेश स्तरिय महिला टी २० क्रिकेट प्रतियोगिताको दोश्रो दिन आईतबार तीन खेल सम्पन्न भएका हुन् । कैलाली जिल्ला क्रिकेट संघको आयोजना तथा सुदुरपश्चिम प्रादेशिक क्रिकेट विकास समितिको आतिथ्यतामा भईरहेको प्रतियोगिताको आईतबार भएका खेलमा कञ्चनपुर र बैतडी विजयी भएका छन् । कञ्चनपुरले दुई खेल जितेको हो । 

2

पहिलो खेलमा कञ्चनपुरले बझाङलाई २८ रनले हरायो । कञ्चनपुरले टस जित्दै पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेटको क्षति एक सय २२ रन बनायो । कञ्चनपुरकी रेवती धामीले ४३ बलमा सर्वाधिक ३४ रन बनाउँदा कप्तान माया रावतले २२ बलमा १९ रन, यशु पाण्डे १५ बलमा १२ रन तथा अष्मिता भट्टले १७ बलमा ११ रन बनाईन् । बझाङकी कप्तान सम्झना खड्काले ४ ओभरमा १ मेडेन सहित ८ रन खर्चंदै सर्वाधिक ३ विकेट लिईन । परशा धामी र मिना धामीले समान १, १ विकेट लिईन् । 

एक सय २३ रनको विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको बझाङले निर्धारित २० ओभरमा ७ विकेटको क्षति मात्र ९४ रन बनाउन सक्यो । बझाङकी कप्तान सम्झना खड्काले ३४ बलमा सर्वाधिक २१ रन बनाउँदा मनिषा उपाध्यायले १७ बलमा १७ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो रन अंक छुन सकेनन् । कञ्चनपुरकी कविता जोशीले  ४ ओभरमा १४ रन खर्चंदै सर्वाधिक ३ विकेट लिदा दीपा जोरा र यशु पाण्डेले समान २,२ विकेट लिईन । खेलकी वुमन अफ दी म्याच कञ्चनपुरकी कविता जोशी भईन् ।

दोश्रोमा खेलमा बैतडीले डोटीलाई ९९ रनले हरायो । डोटीले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिदै बैतडीलाई पहिला ब्याटिङको निम्तो दिएकोमा बैतडीले निर्धारित २० ओभरमा ३ विकेटको क्षति एक ६३ रन बनायो । बैतडीकी दिव्या कार्कीले ३७ बलमा सर्वाधिक ३५ रन बनाउँदा कप्तान रितु कनोजिया १७ बलमा अविजित ३३ रन, मञ्जु बोकटी १८ बलमा २९ रन तथा मानवी विकले ४६ बलमा १५ रन बनाउन बनाईन् । बलिङतर्फ डोटीकी कप्तान अनिशा शाहले ४ ओभरमा ४८ रन खर्चंदै सर्वाधिक २ विकेट लिईन् ।

1

एक सय ६४ रनको विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको डोटीले निर्धारित २० ओभरमा ८ विकेटको क्षति मात्रै ६४ रन बनाउन सक्यो । डोटीकी कुनै पनि खेलाडीले दोहोरो अंक छुन सकेनन् । बलिङतर्फ वविता बोहराले ४ ओभरमा १७ रन तथा निर्मला बोहराले ३ ओभरमा ०७ रन खर्चंदै समान २, २ विकेट लिदा कप्तान रितु कनोजिया र पुजा कार्कीले पनि समान १, १ विकेट लिईन् । खेलकी वुमन अफ दी म्याच बैतडीकी कप्तान रितु कनोजिया भईन् । 

आईतबारको  तेश्रो खेलमा कञ्चनपुरले डडेल्धुरालाई ९ विकेटले हरायो । डडेल्धुराले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिदै निर्धारित २० ओभरमा ६ विकेटको क्षति ७७ रन बनाउन सक्यो । डडेल्धुराकी पुनम फर्सवानले ४३ बलमा २५ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो रन अंक छुन सकेनन् । कञ्चनपुरकी दीपा जोरा, सुधा धामी, पवित्रा धामी र कविता जोशीले समान १, १ विकेट लिईन ।

७८ रनको झिनो विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको कञ्चनपुरले निर्धारित २० ओभरको खेलमा १२.२ ओभर खेल्दै मात्र १ विकेटको क्षति ७८ रन बनाउदै रोमाञ्चक ९ विकेटको जित निकाल्न सफल भयो । कञ्चनपुरकी कप्तान माया रावतले ३० बलमा अविजित २२ रन बनाउँदा रेवती धामी २९ बलमा २२ रन तथा विन्दु रावलले १५ बलमा अविजित १२ रन बनाईन् । डडेल्धुराकी सपना तामाङले ३.२ ओभरमा १ मेडेन सहित १४ रन खर्चंदै १ विकेट लिईन् ।   खेलकी वुमन अफ दी म्याच कञ्चनपुरकी कप्तान माया रावत भईन् । प्रतियोगिताको तेश्रो दिनको पहिलो खेल डडेल्धुरा र बझाङ तथा दोश्रो खेल कैलाली र बैतडीबीच हुनेछ ।