मार्तडीका शैक्षिक संस्था पुन: बन्द
2020/12/21, 12:47
 
corona

जिल्ला प्रशासन कार्यालय बाजुराले सदरमुकाम मार्तडीका सामुदायिक र निजी विद्यालय बन्द गर्न पत्राचार गरेको छ । कोरोना संक्रमणको जोखिम बढेपछि जिल्ला प्रशासनले १० दिनसम्मका लागि सम्पूर्ण शैक्षिक संस्था बन्द गर्न निर्देशन दिएको हो । 

जिल्ला प्रशासन कार्यालयले शनिबार बडिमालिका नगरपालिकाको वडा नम्बर ८ र ९ का मार्तडीस्थित सामुदायिक र निजी विद्यालय बन्द गर्न पत्राचार गरेको प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताए ।  प्रजिअ गैरेले भने, ‘हाललाई दस दिनसम्मका लागि विद्यालय बन्द गर्न पत्राचार गरेका छौँ । पछि संक्रमणको अवस्था हेरेर बन्द गर्ने वा खुलाउने भन्नेबारे छलफल गर्छाैँ ।’

३० मसिंरमा स्वाब संकलन गरी धनगढी पठाइएकामा बिहीबार आएको परीक्षण रिपोर्टमा ४ जना विद्यार्थीमा कोरोना संक्रमण देखिएपछि विद्यालयको पढाइ बन्द गर्न पत्राचार गरिएको गैरेले जानकारी दिए ।  बाजुरामै सबैभन्दा बढी विद्यार्थीको चाप रहेको मालिका नमुना माविमा हाल २ हजार ४२ विद्यार्थी र ६१ शिक्षक कर्मचारी रहेका छन् । बडिमालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रंगमल विकले भने, ‘जिल्ला प्रशासनले नगरपालिकालाई पत्राचार गरेको छ । यसबारे आइतबार नगरभित्रका सबै विद्यालयलाई पत्राचार गर्छौं ।’