सुदूरपश्चिममा पनि तरंग, प्रदेशसभामा अल्पमतमा ओली पक्ष
2020/12/21, 1:35
 
psava

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि सुदूरपश्चिम प्रदेश पनि तरंगित भएको छ । प्रतिनिधिसभा विघटन गर्दै आगामी वैशाखमा दुई चरणको निर्वाचन घोषणा भएपछि प्रदेशमा पनि तरंग फैलिएको हो । नेकपाको सरकार रहेको सुदूरपश्चिममा पार्टी र सरकारको भविष्यबारे टिका टिप्पणी हुन थालेको छ । प्रधानमन्त्री ओली निकटका नेताहरुले अहिलेको परिस्थीतीलाई बाध्यतात्मक भनिरहेका छन् भने अन्यले असंवैधानिक कदमको संज्ञा दिएका छन् । संसद विघटनपछि प्रधानमन्त्री ओलीको समर्थनमा धनगढीमा युवा संघले प्रदेश स्तरीय भेला सम्पन्न गरेको छ भने प्रचण्ड–माधव समूहले प्रधानमन्त्रीविरुद्ध नौँ वटै जिल्लामा प्रदर्शन गरिरहेका छन् । संसद विघटन भएपछि प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरु पनि आन्तरिक छलफलमा जुटेका छन् । मुख्यमन्त्री त्रिलोचन भट्ट र आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाह भोली पार्टीको केन्द्रिय समितिको बैठकमा सहभागि हुन काठमाडौँ जाने तयारीमा छन् । 

मुख्यमन्त्री भट्टले प्रतिनिधिसभा विघटन भएपछि मुलुक पुनः अस्थिरतातर्फ धकेलिने सम्भावना बढेको बताए । जनताले स्थिरताका लागि नै नेकपालाई मत दिएको बताउँदै उनले भने, ‘संसद विघटन हुनु भनेको म्यान्डेटविपरीतको कदम हो ।’ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता रणबहादुर रावलले पनि प्रधानमन्त्रीको कदम संवैधानिक व्यवस्थाविपरीत भएको बताए । 

प्रतिनिधिसभा विघटन भएपछि प्रदेशसभामा पनि जोडघटाउ गर्न थालिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली सुदूरपश्चिम प्रदेशसभामा भने कमजोर देखिएका छन् । सुदूरपश्चिम प्रदेश सभामा नेकपाका ३९ जना सदस्य रहेकोमा मुख्यमन्त्री भट्टसहित ३४ जना प्रचण्ड–माधव समूहमा देखिएका छन् । नेकपा संसदीय दल सुदूरपश्चिमका नेता तथा मुख्यमन्त्री भट्ट, उपनेता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट, भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरी, सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी, प्रमुख सचेतक तारा लामा तामाङ, सचेतक अक्कल बहादुर रावल सहितका सांसद प्रचण्ड– माधव समूह नजिक छन् । यो समूहमा  तटस्थ भूमिकामा रहेका सभामुख अर्जुन बहादुर थापा र उपसभामुख निर्मला जोशी बडाल पनि पर्छन ।

आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहरा तटस्थ देखिएका छन् । ओली समूहमा प्रष्टसंग खुलेका एक मन्त्रीसहित तीन जना सांसद मात्र छन् । भौतिक पूर्वाधार मन्त्री पठानसिंह बोहरा, नेकपा कैलालीका अध्यक्ष तथा प्रदेश सांसद रतन थापा र प्रदेश सभा सदस्य नेपालु चौधरी ओली समूहका प्रष्टसंग खुलेका सांसद हुन् । प्रदेश सभा सदस्य कुन्ती जोशी र लिलाधर भट्ट पनि ओली नजिक मानिन्छन् ।