प्रादेशिक महिला क्रिकेटको सेमिफाईनल समिकरण पुरा 
2020/12/21, 6:46
 
cricket

कैलाली जिल्ला क्रिकेट संघको आयोजना तथा सुदुरपश्चिम प्रादेशिक क्रिकेट विकास समितिको आतिथ्यतामा धनगढीमा जारी प्रादेशिक महिला क्रिकेटको सेमिफाईनल समिकरण पुरा भएको छ । धनगढीको फाप्ला मैदानमा जारी प्रदेश स्तरीय महिला टी–२० क्रिकेट प्रतियोगिताको लिग चरणका खेलहरु सकिएसँगै अन्तिम चारको समिकरण पुरा भएको हो । सोमबार लिग चरणका दुई वटा खेल भएसँगै सलग चरणका सबै खेलहरु पनि सकिएका छन् । 

समुह ए बाट विजेता हुदैं बैतडी सेमिफाईनल पुगेको छ । सोमबारको दोस्रो खेलमा बैतडीले कैलालीलाई विकेटले हराएको हो । कैलालीले यसअघि डोटीलाई हराएको थियो । समुह ए बाट उपविजेता भएर कैलाली पनि अन्तिम चारमा पुगेको छ ।  बैतडी र कैलालीबीचको खेलमा कैलालीले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेटको क्षति मात्रै ७५ रन बनाउन सक्यो । कैलालीकी रुवि पोदारले ३६ बलमा सर्वाधिक २४ रन बनाउँदा कप्तान कविता कुँवरले २३ बलमा २१ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो रन अंक छुन सकेनन् । बलिङतर्फ बैतडीकी सुनिता लुहारले ४ ओभरमा २८ रन खर्चंदै सर्वाधिक ३ विकेट लिन सफल हुँदा पूजा कार्कीले ४ ओभरमा १४ रन खर्चंदै महत्वपूर्ण २ विकेट लिए । 

७६ रनको विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको बैतडीले निर्धारित २० ओभरको खेलमा १८.१ ओभर खेल्दै ८ विकेटको क्षतिमा ७६ रन बनाउँदै २ विकेटको रोमाञ्चक जित निकाल्यो । बैतडीले सेमिफाइनलमा बझाङसँग भिडन्त पक्का गरेको छ । बैतडीकी मञ्जु बोकटीले २३ बलमा सर्वाधिक २४ रन बनाउँदा कप्तान रितु कनोजियाले ३१ बलमा २० रन तथा सुनिता लुहारले १५ बलमा १० रन बनाईन् । कैलालीकी स्नेहा महराले २ ओभरमा १ मेडेन सहित १ रन खर्चंदै सर्वाधिक ३ विकेट लिईन् । ४ ओभरमा ५ रन खर्चंदै महत्वपूर्ण २ विकेट लिईन् । खेलकी वुमन अफ दी म्याच बैतडीकी सुनिता लुहार भईन् । सोमबारको पहिलो खेलमा जित हात पार्दै बझाङ पनि समुह बी को उपविजेता बन्दै सेमिफाईनल प्रवेश गरेको छ । 

बझाङले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गर्दै  निर्धारित २० ओभरमा ७ विकेटको क्षति मात्र ९२ रन बनाउन सक्यो । ब्याटिङतर्फ बझाङकी कप्तान सम्झना खड्काले २१ बलमा सर्वाधिक २० रन बनाउँदा शिला खड्काले २५ बलमा १७ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो रन अंक छुन सकेनन् । डडेल्धुराकी सिर्जना साउँद ४ ओभरमा १ मेडेन सहित १७ रन,आशा साँकीले ४ ओभरमा १७ रन तथा पुनम फर्सवानले ४ ओभरमा १९ रन खर्चंदै समान २, २ विकेट लिईन्।

1

९३ रनको विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको डडेल्धुराले निर्धारित २० ओभरको खेलमा ११ ओभरमा खेल्दै सम्पुर्ण विकेटको क्षति मात्रै ३६ रनमा समेटियो । डडेल्धुराका कुनै पनि खेलाडीले दोहोरो अंक छुन सकेनन् । बझाङकी पविना खड्काले २ ओभरमा ०८ रन खर्चंदै सर्वाधिक ३ विकेट लिन सफल हुँदा कमला धामीले ३ ओभरमा ७ रन खर्चंदै महत्वपूर्ण २ विकेट लिईन । खेलकी वुमन अफ दी म्याच बझाङकी पविना खड्का भईन् । 

मंगलबार दुबै सेमिफाईनल खेल हुनेछ । पहिलो सेमिफाईनलमा कैलाली र कञ्चनपुर तथा दोस्रो सेमिफाईनलमा बैतडी र वझाङ प्रतिस्पर्धा गर्नेछन् । वुधबार प्रतियोगिताको फाईनल हुनेछ । यस छनौट प्रतियोगिताबाट प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि सुदूरपश्चिमको टोली छनौट हुनेछ । प्रतियोगिता पुस ११ देखि दाङको लमहीमा हुदैछ ।