संघीय संसद विघटनको विरोधमा सोमबार सुदूरपश्चिमभर प्रदर्शन सहित पुत्ला दहन भएको छ । सत्तारुढ नेकपाभित्रको एक पक्षले सडक संघर्ष सहित प्रदर्शन र पुत्ला दहन गरेको हो । प्रदेशका विभिन्न स्थानहरुमा नेकपाकै कार्यकर्ताहरुले संसद विघटनको विरोधमा प्रदर्शन गरेका छन् । कतिपय स्थानमा प्रधानमन्त्री केपी शर्मा ओलीको उनकै पार्टीका कार्यकर्ताले पुत्ला दहन समेत गरेका छन् ।
प्रतिनिधिसभा विघटनको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओलीको धनगढीमा पुत्ला दहन गरिएको छ । सत्तारुढ नेकपाकै नेता कार्यकर्ताहरुले धनगढीको एलएन चोकमा प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन् । दाहाल–नेपाल पक्षधरका नेता, कार्यकर्ताहरुले प्रधानमन्त्री विरुद्ध नारावाजी गर्दै पुतला दहन गरेका हुन् ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिईन् । प्रधानमन्त्री र राष्ट्रपतिको कदम गैरसंवैधानिक र पार्टी अनुशासन विपरित रहेको भन्दै प्रदेशभर विरोध प्रदर्शन गरिएको नेकपाको प्रदेश कमिटी सचिव नेपबहादुर चौधरीले जानकारी दिए ।
यता लोकतन्त्रको वकालत गर्दै आएको नेपाली काग्रेंस केन्द्रिय समितिले आन्दोलनमा जाने बताए पनि सुदूरपश्चिममा भने कुनै विरोधको कार्यक्रम गरिएको छैन । यहाँका जिल्ला कार्य समितिहरु मौन रहेका छन् । यदपि नेवि संघले आईतबार धनगढीमा प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेपनि काग्रेंस नेतृत्वले अन्य विरोधका कार्यक्रम गरेको छैन् ।
पछिल्लो विकसित राजनितिक घटनाक्रमको विरोधमा जाने वा नजानेबारे पार्टीको निर्देशन पर्खेर बसेको नेपाली काँग्रेसका कैलाली सभापति नरनारायण शाहले बताए । संसद विघटनको विरोधमा सुदूरपश्चिममा नेकपाकै एक समुह, विवेकशील साझा पार्टी, काँग्रेस निकट नेपाल विद्यार्थी संघ लगायतले पनि विरोध प्रदर्शन गरेका थिए ।