उपाधिका लागि कैलाली र बैतडी प्रतिस्पर्धा गर्ने 
प्रधानमन्त्री कप सुदूरपश्चिम छनोटः
2020/12/22, 6:31
 
corona

कैलाली जिल्ला क्रिकेट संघको आयोजना तथा सुदुरपश्चिम प्रादेशिक क्रिकेट विकास समितिको आतिथ्यतामा भईरहेको प्रधानमन्त्री कप सुदूरपश्चिम छनोट प्रतियोगिताको उपाधिका लागि कैलाली र बैतडी प्रतिस्पर्धा गर्ने भएका छन् । पुस ४ गतेदेखि धनगढीको फाप्ला मैदानमा भईरहेको प्रतियोगिताको मंगलबार भएका सेमिफाईनलमा जित हात पार्दै कैलाली र बैतडी उपाधिका लागि भिड्ने भएका हुन् । 
मंगलबार भएको पहिलो सेमिफाईनलमा कैलालीले कञ्चनपुरलाई ७ विकेटले हराउँदै उपाधि नजिक पुगेको हो भने बैतडीले बझाङलाई ४२ रनले किनारा लगाएर फाईनल पुगेको हो । 

पहिलो सेमिफाईनल खेलमा कञ्चनपुरले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा  एक सय २० रन बनायो । कञ्चनपुरकी रेवती धामीले ४५ बलमा सर्वाधिक ३२ रन बनाउँदा कविता जोशी १० बलमा अविजित २५ रन, कप्तान माया रावतले घाईते हुँदै मैदान बाहिर हुँदा ३४ बलमा १४ रन, डली भट्टले १८ बलमा १५ रन तथा विन्दु रावलले १८ बलमा अविजित ११ रन बनाईन् । कैलालीकी लक्ष्मी साउँदले ४ ओभरमा ७ रन खर्चदा कृति भण्डारीले ३ ओभरमा १९ रन खर्चदै समान १, १ विकेट लिईन् ।

एक सय २१ रनको विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको कैलालीले निर्धारित २० ओभरको खेलमा १७.५ ओभरमा ३ विकेटको क्षतिमा विजय लक्ष्य भेट्टायो ।  कैलालीकी रुवि पोदारले ४७ बलमा सर्वाधिक ४० रन बनाउँदा कप्तान कविता कुँवरले १७ बलमा २४ रन, चाँदनी शाहले १० बलमा अविजित १८ रन तथा शोभा रोकायाले २९ बलमा १५ रन बनाईन् । कञ्चनपुरकी डलि भट्टले ४ ओभरमा २० रन खर्चंदै एक विकेट लिएपनि आफ्नो टिमलाई जिताउन सकिनन् । खेलकी वुमन अफ दी म्याच कैलालीकी रुवि पोदार भईन् । 

प्रतियोगिताको दोश्रो सेमिफाइनलमा बैतडीले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ५ विकेटको क्षति एक सय १ रन बनायो । बैतडीकी मञ्जु बोगटीले ३७ बलमा २३ रन बनाउँदा सुनिता लुहारले १८ बलमा १५ रन तथा कप्तान रितु कनिजियाले २२ बलमा १४ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो रन अंक छुन सकिेनन् । बझाङकी मनिषा उपाध्याय, कमला धामी, पविना खड्का, सम्झना खड्का र मिना धामीले समान एक एक विकेट लिईन् ।

एक सय २ रनको विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको बझाङले निर्धारित २० ओभरको खेलमा  १८.४ ओभर खेल्दै सम्पुर्ण विकेटको क्षति ५९ रन मात्रै बनाउन सक्यो । बझाङकी मिना धामीले ३३ बलमा सर्वाधिक १६ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो रन अंक छुन सकेनन् । बैतडीकि सुनिता लुहारले ४ ओभरमा १७ रन खर्चदा र बविता बोहराले ४ ओभरमा १२ रन खर्चदै समान २, २ विकेट लिईन् । खेलकी वुमन अफ दी म्याच बैतडीकी सुनिता लुहार भईन ।

प्रधानमन्त्री कप प्रदेश स्तरीय छनोट महिला टी–२० क्रिकेट प्रतियोगिताको फाईनलमा कैलाली र बैतडीबीच बुधबार प्रतिस्पर्धा हुनेछ । यसअघि लिग चरणमा भएको खेलमा बैतडीले कैलालीलाई हराएको थियो । दुबै टोली लिग चरणमा एक समुहमा रहेका थिए । बैतडी विजेता र कैलाली उपविजेता बनेको थियो ।