सुदूरपश्चिम सरकारमा प्रधानमन्त्री केपी शर्मा ओली पक्ष अल्पमतमा छ । ५३ सदस्यीय प्रदेश सभामा ३९ नेकपा, १२ नेपाली काँग्रेस र दुई जना प्रदेश सभा सदस्य जनता समाजवादी पार्टीका छन् । ३९ जना प्रदेश सभा सदस्य रहेको नेकपामा ओली पक्षमा एक मन्त्रीसहित तीन जना मात्रै स्पष्ट खुलेर लागेका छन् । भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरा, प्रदेश सभा सदस्य रतन थापा र नेपालु चौधरी मात्रै खुलेरै ओली पक्षमा लागेका छन् ।
प्रदेश सभा सदस्य कुन्ती जोशी र लिलाधर भट्ट ओली पक्षका भनिए पनि उनीहरु अहिले मौन छन् । सात सदस्यीय मन्त्रीमण्डलमा एक जना मात्रै ओली पक्षका मन्त्री भएपछि बोहराको मन्त्री पद नै जोखिममा परेको आकलन गर्न थालिएको छ । मन्त्री बोहराले स्पष्ट बोल्न नमाने पनि खवरकुञ्जसंग कुराकानी गर्दै भने, ‘धेरै कुरा स्पष्ट भईसकेको छ । बाहिर जे हल्ला छ त्यहि नै हो ।’ उनले कुराकानीको क्रममा आफ्नो मन्त्री पद धरापमा परेको संज्ञा दिए ।
मन्त्री बोहराको मन्त्री पद धरापमा परेसंगै नयाँ भौतिक पूर्वाधार मन्त्री को बन्लान ? भन्ने चर्चा पनि हुन थालेको छ । नेकपा स्रोतका अनुसार भौतिक पूर्वाधार विकास मन्त्री पूर्व मन्त्री दीर्घ सोडारी बन्ने सम्भावना बढि छ । उनीमाथि गरिएको कारवाही फुकुवा भएपछि सोडारीको फेरी मन्त्री बन्ने सम्भावना बढेको हो । उनको नेकपा कैलालीको अध्यक्षमा पुनरवहाली समेत भईसकेको छ । खवरकुञ्जसंग कुराकानी गर्दै पूर्वमन्त्री सोडारीले भने, ‘मेरो जिम्मेवारीसहित कारवाही फुकुवा भएको छ । जिल्ला अध्यक्षसंगै मन्त्री पनि बन्छु । फेरी सामाजिक विकास मन्त्रालयमै जाने मेरो ईच्छा छैन् । अर्कै मन्त्रालयको तयारी गर्दैछु ।’