सुदूरपश्चिममा कोरोना प्रभावितलाई स्वरोजगार स्वरोजगार बनाउने अभियान अघि बढ्यो
2020/12/23, 11:05
 
krishi

सुदूरपश्चिम प्रदेशमा कोरोना प्रभावित व्यक्तिलाई विभिन्न आयमूलक काममा लगाएर स्वरोजगार बनाउने अभियान अघि बढाएको छ । दुई महिना अघिसम्म कोरोनाका कारण रोजगारी गुमाएर र विस्थापित भएर स्वदेश फर्किएका सुदूरपश्चिमका नागरिकलाई कृषि र पशुपन्छीपालनमा अग्रसर गराउन यहाँको प्रदेश सरकारले नौ हजार जनालाई स्वरोजगार बनाउन आवेदन लिएको थियो ।

सुदूरपश्चिमका कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र यहाँका नौवटै जिल्लाका ८८ वटा स्थानीय तहमा ८० हजारभन्दा बढी कोरोना प्रभावितले आवेदन दिएका थिए । प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ कृषि प्रसार अधिकृत गोकुलप्रसाद बोहराले कोरोना प्रभावितलाई स्वरोजगार बनाउन जिल्लाका कृषि तथा पशु कार्यालयमा मन्त्रालयबाट दुई महिनाअघि नै बजेट वितरण भइसकेको बताए ।

“अहिले सम्बन्धित जिल्लामै प्रभावितको अर्को चरणको छनोट चलिरहेको छ ।” वरिष्ठ कृषि प्रसार अधिकृत बोहराले भने, “काम गर्न चाहनेका लागि मापदण्ड बनाएर न्यूनतम सहयोग गर्न चाहेका छौँ ।” उनले प्रभावितबाट इच्छापत्र आह्वान हुँदा एउटै घरबाट दर्जन बढी आवेदन आएको बताए। उनले भने “पछिल्लो चरणमा आवेदन दिनेको सङ्ख्या ह्वात्तै घटेको छ ।”

उनले कोरोना प्रभावितलाई स्वरोजगार बनाउन मन्त्रालयले रु १५ करोड रकम छट्टाएको जानकारी दिए । मन्त्रालयले कृषि तथा पशुपन्छी विकास कार्यक्रममा सहभागी हुन कोरोना प्रभावित व्यक्तिलाई आवेदन दिन गत असोज पहिलो सातासम्म समय दिइएको थियो ।

मन्त्रालयले जारी गरेको सूचनाअनुसार फलफूल, तरकारी, च्याउखेती, मौरी, भेडा, बाख्रा, बङ्गुुरपालन, गाईभैँसी, माछा, स्थानीय कुखुरा, हाँस र अन्य मासुजन्य पन्छीपालन, नर्सरी, पुष्प व्यवसाय गरी १० थरी कृषि क्षेत्रमा काम गर्न इन्छुक व्यक्तिलाई स्वरोजगार बनाउने लक्ष्य रहेको छ ।  कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्राविधिक सहायक जनकबहादुर सिंह कोरोना प्रभावितमध्येबाट १०० जना छनोट गरिएको बताए । “विदेशबाट फर्केका र कोरोना प्रभावितलाई पुनः आवेदन लिएर छनोट गरियो” उनले भने, “अब कार्यविधिअनुसार काम गर्न सम्झौता हुँदैछ ।”

सुदूरपश्चिम प्रदेशमा कोरोना कहरमा भारतबाट मात्रै डेढ लाख सुदूरपश्चिमेली नागरिक स्वदेश फर्किएको तथ्याङ्क छ । स्वदेशमा रोजगारी नपाएपछि सङ्क्रमणकै बीच यहाँका नागरिक दिनहुँ कञ्चनपुर र कैलाली लगायतका नाकाबाट भारत जाने क्रम निरन्तर रहेको छ ।