प्रधानमन्त्री कप सुदूरपश्चिम छनोटको उपाधिका लागि कैलाली र बैतडी भिड्दै
2020/12/23, 11:33
 
cricket

कैलाली जिल्ला क्रिकेट संघको आयोजना तथा सुदुरपश्चिम प्रादेशिक क्रिकेट विकास समितिको आतिथ्यतामा भईरहेको प्रधानमन्त्री कप सुदूरपश्चिम छनोट प्रतियोगिताको उपाधिका लागि कैलाली र बैतडी प्रतिस्पर्धा गरिरहेका छन् ।

पुस ४ गतेदेखि धनगढीको फाप्ला मैदानमा भईरहेको प्रतियोगिताको मंगलबार भएका सेमिफाईनलमा जित हात पार्दै कैलाली र बैतडी बुधबार उपाधिका लागि भिडिरहेका हुन् । मंगलबार भएको पहिलो सेमिफाईनलमा कैलालीले कञ्चनपुरलाई ७ विकेटले हराएको थियो भने बैतडीले बझाङलाई ४२ रनले किनारा लगाएको थियो ।

यसअघि लिग चरणमा भएको खेलमा बैतडीले कैलालीलाई हराएको थियो । दुबै टोली लिग चरणमा एक समुहमा रहेका थिए । बैतडी विजेता र कैलाली उपविजेता बनेको थियो ।  धनगढीको फाप्ला मैदानमा बैतडीले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । कैलालीले यसअघि पहिले ब्याटिङ गर्दै ७५ रन मात्रै बनाउँदा पनि बैतडीलाई जित्न हम्मेहम्मे भएको थियो ।

कैलालीका अधिकांश युवा महिला खेलाडीहरु फाप्लामा अभ्यास समेत गर्दै आईरहेका छन भने बैतडीमा अधिकांश अनुभवी खेलाडीहरु रहेका छन् । प्रधानमन्त्री कप प्रदेश स्तरीय छनोट महिला टी–२० क्रिकेट प्रतियोगिताको फाईनल खेलसँगै प्रदेश छनोट आज सकिदैछ । प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गर्दै सुदुरपश्चिम प्रदेशको टीम बनाईनेछ ।